काठमाडौं । नेपाल लगानीका लागि उत्कृष्ट स्थान भएकाले अमेरिकी लगानीकर्तालाई लगानीको अवसरमार्फत लाभ लिन परराष्ट्रमन्त्री एनपी साउदले आग्रह गरेका छन् ।
नेपालमा गरिएको लगानीको मुनाफा र पुँजी फिर्ता लैजाने संवैधानिक व्यवस्था गरिएकाले लगानीमैत्री वातावरण निर्माण भएको मन्त्री साउदले बताए । नेपाल सरकारले लगानीमैत्री वातावरण बनाउन र लगानी आकर्षित गन्तव्यको रुपमा विकास गर्न कुनै कसर नराख्ने उनको भनाइ थियो ।
अमेरिका चेम्बर अफ कमर्सका सदस्यसँग बुधवार वासिङ्टन डिसीमा अन्तर्क्रिया गर्दै मन्त्री साउदले उक्त आग्रह गरेका हुन् । मन्त्री साउदले नेपालको सूचना प्रविधि क्षेत्र अर्को संभावना भएको उल्लेख गर्दै सक्षम जनशक्ति, भाषागत दक्षता, मानव संशाधनको सहज उपलब्धता आदि कारणले यसमा लगानी गर्न पनि अनुरोध गरे ।
वैदशिक लगानीका लागि वाणिज्य विभागमा एकद्वार प्रणालीमार्फत सहजीकरण गर्दै आएको मन्त्री साउदले बताए । उक्त अवसरमा अमेरिकाको चेम्वर अफ कमर्सले नेपालमा स्थापना भएको अमेरिकन चेम्बर अफ कमर्स इन नेपाललाई वैधानिकता प्रदान गरेको थियो ।
सो अवसरमा एमच्याम्वरका संस्थापक अध्यक्ष अजित शाहले वैधानिकताको प्रमाणपत्र ग्रहण गरेका थिए । कार्यक्रममा अमेरिकन चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका प्रमुख जोन मुर्फे र अर्का उपाध्यक्ष अतुल कश्यपले नेपालमा अमेरिकी लगानीकर्ताको चासो बढेको बताएका थिए । नेपालले पछिल्ला वर्षमा आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राखेर वैदेशिक लगानी, पर्यटन प्रवर्द्धनलगायत क्षेत्रमा नेपाली नियोगलाई परिचालन गर्दै आएको छ ।