काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले श्रम स्वीकृति लगायत वैदेशिक रोजगारीका लागि नक्कली कागजात बनाउने दुई जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ ।
गोरखा बारपाक सुलिकोट–४ घर भई हाल काठमाडौँ बनस्थली बस्ने २३ वर्षीय अजित फेवाली र सोही ठाउँमा घर भई हाल काठमाडौँको नागार्जुन–१ रानीवन बस्ने २१ वर्षीय विपीन ढकाल पक्राउ परेका उपत्यका अपराध अनुन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।
उनीहरुलाई कामपा–१३ मा घर भाडामा लिई वैदेशक रोजगारसम्बन्धी काम गर्ने ट्राभल्सबाट पक्राउ गरिएको थियो ।भिजिट भिसामा विदेश जान लागेका व्यक्ति शङ्कास्पद रहेको र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पठाइएका कागजातमध्ये सुजल हेङगजुको नाममा रहेको श्रम स्वीकृति नक्कली देखिएको थियो ।
अनुसन्धानबाट उक्त कागजात बनाउने फेवाली र ढकाल रहेको खुल्न आएकाले निजहरुलाई पक्राउ गरिएको केसीले बताए । उक्त ट्राभल्सको खानतलासी गर्दा ढकाल र फेवालीको मोबाइल एक÷एक थानलगायत अन्य सामग्री बरामद गरिएको प्रहरी उपरीक्षक केसीले बताए । उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त कालीमाटी पठाइएको छ ।