चितवन । यही कात्तिक १२ गते देखि १६ गतेसम्ममा नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरले रु. ६५ लाख २० हजार बक्यौता रकम उठाएको छ । प्राधिकरणले ६० दिन कटेका ग्राहकको लाइन काट्ने अभियानअन्तर्गत यो बक्यौता उठाएको हो ।
केन्द्रका प्रमुख रामु श्रेष्ठले अभियानका क्रममा बिहीबारसम्म तीन सय ३० ग्राहकको लाइन काटिएको छ । सो क्रममा रु. एक करोड चार लाख ३८ हजार बराबरको बक्यौता रकम बराबरको लाइन काटिएको बताए ।
उनका अनुसार बक्यौता रकम पूर्णरुपमा नतिरे पनि एक सातादेखि एक महिनासम्मको भाकामा बक्यौता तिर्छु भनेर कबुल गरेर लाइन जडान गरेका छन् । लाइन काटिएकामध्ये दुई सय ९७ ग्राहकले बक्यौता रकम बुझाएका छन् । आर्थिकमन्दीका कारण ग्राहकले समयमा पैसा बुझाउन नसकेको हुनसक्ने उनको भनाइ थियो । कतिपय ग्राहकले २० देखि ३० प्रतिशत मात्रै बक्यौता रकम बुझाउने गरेका छन् । अभियानअन्तर्गत लाइन काट्न थालेसँगै लाइन नकाटिएका ग्राहकसमेत महसुल तिर्न आउन थालेको उनले बताए ।