लुम्बिनी । नेपाल पर्वतारोहण सङ्घले हिमाली क्षेत्रमा परेको जलवायु परिवर्तको असर र विश्व शान्तिका लागि विश्वको ध्यान केन्द्रित गर्न बुद्ध जन्मस्थल लुम्बिनीबाट सगरमाथाको आधार शिविरतर्फ शान्ति दीप लगेको छ ।
शुक्रबार लुम्बिनीस्थित शान्ति दीपमा प्रज्वलन गरेको दीप सगरमाथाको आधार शिविरतर्फ प्रस्थान गर्न लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले पूजा गरेको शान्ति दीप कार्यक्रम संयोजक, विश्व कीर्तिमानी आरोही काजी शेर्पा (स्पीड), नेपाल पर्वतारोहण सङ्घका पूर्वसचिव एवं केन्द्रीय कार्यसमिति सदस्य दिवस पोखेल र सगरमाथा आरोही सङ्घका महासचित शिवबहादुर सापकोटालाई संयुक्तरुपमा हस्तान्तरण गरेका हुन् ।
उनले विश्व मानव जगत्मा जलवायु परिवर्तनको असरसँगै द्वन्द्व पनि बढिरहेको अवस्थामा शान्ति भूमि लुम्बिनीबाट विश्वको सर्वोच्च शिखरमा दीप लैजाने कार्य गौरवको विषय भएको बताए । शान्ति दीपमा प्रज्ज्वलन गरिएको उक्त दीपलाई लामा गुरुहरुबाट स्वस्ति शान्ति गरी मायादेवी मन्दिर परिक्रमा गराइएको थियो ।
नेपाल पर्वतारोहण सङ्घले लुम्बिनीबाट लगिने उक्त दीप कात्तिक १९ गते साँझसम्ममा काठमाडौँ हुँदै सगरमाथा आधार शिविर कालापत्थर पु¥याइने जनाएको छ । नेपालको राष्ट्रिय झण्डा फहराउने र बौद्धबाट ल्याइएको दीपसमेत उक्त स्थानमा प्रज्ज्वलन गरिने छ । कात्तिक २५ गतेका दिन कालापत्थरमा सम्पन्न हुन गइरहेको कार्यक्रमबाट विश्वको ध्यान केन्द्रित हुने सङ्घका पूर्वसचिव एवं केन्द्रीय कार्यसमिति सदस्य दिवस पोख्रेलले बताए ।