आशिषबहादुर सिंह
बझाङ, वैशाख ३१
बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका वडा नः १ मा पर्ने कैलाश गुफा लकडाउनको बेला पर्यटकको गन्तव्य बन्दै गएको छ । सदरमुककाम चैनपुरदेखि करिब ९ घन्टा पैदल यात्रामा पुगिने कैलाश गुफा निकै मनमहोक र मनै लोभ्याउनेछ । यहाँ हरियाली पाटन, घना जंगल, बुट्टा भरेजस्तै ढुङगा, रंगीविरंगी चरा तथा जंगली जनावर देख्न पाइन्छ ।
कैलाश गुफा लकडाउनको समय बिताउन आन्तरिक पर्यटकहरूको पहिलो रोजाइमा परेको छ । कैलाशका धनबहादुर सिंहले सुरु भएदेखि नै कैलाश गुफा जानेको सख्या बढ्दै गएको बताए । खान बस्नलाई उचित व्यवस्था राम्रो नहुँदा यहाँ जाने पर्यटकहरू चाउचाउ बिस्कुट खाएर तीन चार दिनसम्म बस्ने गरेको लोकराज खड्काले बताए । खान बस्नलाई राम्रो व्यवस्था भए १० दिनको यात्रा तय गरेर यहाँ पर्यटक आउने उनले बताए । उक्त क्षेत्रबाट बझाङ जिल्लाको आधा भन्दा बढी भू–भाग, बाजुराको आधा भू–भाग, बैतडी, डोटी, हुम्ला, खप्तड पाटन र साइपाल हिमाल सजिलै देख्न सकिने भएकाले पर्यटकलाई यस क्षेत्रले लोभ्याउने यहाँ घुम्न गएको कुबेर सिंहले बताए ।
कैलास गुफामा केही वर्ष पहिला मात्र कैलाशका निल गगन रोशन सिंहको पहलमा पूजापाठ गरेपछि यसको प्रचारप्रसार भएको स्थानीय बताउँछन् । कैलाशमा शिव र पावर्ती बास बस्ने भएकाले शुद्व मनले पूजा आरधना गरेपछि आफूले चाहेको मनोकामना पूरा हुने धार्मिक विश्वास पनि रहेको छ । यस क्षेत्रमा जान जयपृथ्वी नगरपालिकाको कैलाश पिमी हुँदै चौडान बुढासिम मार्ती आगलाग्यासम्म र त्यहाँबाट साग्र्या पाटन हुँदै कैलाश गुफा र कुण्डमा पुन्न सकिन्छ । गुफाभित्र चरा चुरुङ्गीका गुँड, पानीका कुण्ड हेर्दा एकान्तबासको महसुस हुने पर्यटकको बुझाइ छ । यस क्षेत्रमा बाह्य मानिसको आवतजावत धेरै नहुने भएकोले पनि घुम्नको लागि सुरक्षित जग्गा भएको घुम्न जाने आन्तरिक पर्यटनको बुझाइ रहेको छ ।
प्रचारप्रसारको अभावले ओझेलमा परेको कैलाश गुफाको अझै पनि विकास हुनचाहिँ सकेको छैन । स्थानीय सरकारले ठाउँ–ठाउँमा खानेपानीका धारा, बाटो चिनाउने चिह्न, बोड, घुम्न आएका पर्यटकलाई खान, बस्नको व्यवस्था मिलाउन सके जयपृथ्वी नगरपालिकाको मात्र नभई जिल्लाको नै विकास हुने जानकारहरू बताउँछन् ।