कञ्चनपुर, वैशाख ३१
विगत लामो समयदेखि भारतीय क्वारेन्टाइनमा रहेका नेपालीहरूलाई भारतले रातारात सीमा क्षेत्र गड्डा चौकीमा ल्याएर छाडेपछि उनीहरूलाई नेपालको क्वारेन्टाइनमा राख्नेगरी प्रवेश गराइएको छ । भारतीय पक्षले ४० दिनपछि आइतबार र सोमबार राति गरी सीमावर्ती भारतीय बजार वनवासाको स्कुलमा क्वारेन्टाइन बसेका दुई सय ५१ जना नेपालीलाई सिमानाका ल्याएर छाडेको थियो । पहिलो दिन आइतबार ७५ र सोमबार राति एक सय ६७ जनालाई भारतीय पक्षले टनकपुर नाका हुँदै ब्रम्हदेव ल्याएर छाडेपछि उनीहरूलाई कञ्चनपुरमा क्वारेन्टाइनमा राखिएको हो । उनीहरूलाई आरडीटी परीक्षण गरेर भीमदत्त नगरपालिकावडा नम्बर ४ महेन्द्रनगरमा भीमदत्त नगरपालिकाद्वारा निर्मित बैजनाथ माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखेको बताइएको छ ।
‘भारतीय क्वारेन्टाइनमा बस्दा कुनै ठूलै अपराध गरेका छौँ भन्ने लाग्थ्यो’, डडेल्धुरा पर्शुराम नगरपालिका–८ जोगबुढाका केशव धामीले भने,‘४० दिनपछि स्वदेश फर्किदा पाउँदा खुसी लागेको छ ।’ क्वारेन्टाइनबाट बसमा राखेर टनकपुर नाका भएर ब्रम्हदेव छाडिएको बताउँदै उनले स्वदेशी भूमिमा पुगेपछि कुनै ठूलो युद्ध जितेर आएजस्तो भइरहेको बताए । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले स्वदेश फर्किएका नेपालीहरूको स्वास्थ्य परीक्षण गरिने बताए । भारतीय प्रहरीले नेपाली पक्षको सहमति र समन्वयबिनै एक्कासी सीमासम्म ल्याएर छाडेको स्थानीय जनप्रतिनिधिले बताएका छन् ।