काठमाडौँ । गए राति फ्लाइ दुवइको विमानमार्फत दक्षिणी इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका डोटी लामीखाल-८ का पदम थापाको शव नेपाल आइपुगेसँगै मृत्यु भएका सबै नेपाली विद्यार्थीको शव नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले बताएका छन् ।
इजरायलमा हाललाई उद्धार कार्य करिब करिब सकिएको बताउँदै आरणले बेपत्ता भएका विपीन जोशीको उद्धारका लागि पहल भइरहेको बताए । सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत उनीहरु इजरायल गएका थिए । सोही आक्रमणमा परी कञ्चनपुर भीमदत्त-३ का विपीन जोशी सम्पर्कविहीन छन् ।
हमास समूहको आक्रमणमा परि डोटी लामीखाल-८ का पदम थापा, सल्यान सारदा-३ का प्रवेश भण्डारी, बझाङ जयपृथ्वी-६ का गणेशकुमार नेपाली, दार्चुला मालिकार्जन-४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम-५ का दीपेशराज विष्ट, धनुषा सापही-६ का आनन्द शाह, कैलाली घोडाघोडी-४ का नारायणप्रसाद न्यौपाने, सुनसरी मधुवन-१ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली-३ का राजन फुलारा, तथा कैलाली बौनियाँ-३ का आशीष चौधरीको शव नेपाल ल्याइएको हो ।
केही समय अघि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहितको टोलीले इजरायलमा फसेका दुई सय ५४ विद्यार्थीलाई उद्दार गरी नेपाल ल्याएका थिए । डोटी लामीखाल-८ का पदम थापा, डोटी पचनाली-३ का राजन फुलारा र सल्यान सारदा-३ का प्रवेश भण्डारीको शव आज दिउँसो १२ बजेपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत सम्बन्धित जिल्लामा पठाइने तयारी भएको सहसचिव आरणले जानकारी दिए ।