काठमाडौं, वैशाख ३१
सिभिल बैंक लिमिटेडले आफ्ना सबै ग्राहकहरूमा नेपालमा डिजिटल भुक्तानी सेवा प्रवर्द्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमतिप्राप्त भुक्तानी सेवाप्रदायक सेल–पेसँग सम्झौता गरेको छ । सहकार्य सम्झौतामा बैंकका उप–प्रमुख कार्यकारी अधिकारी सुनिलकुमार पोखरेल र सेलकम प्रालिका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेको बैंकले जानकारी दिएको छ ।
सेल–पे, सेलकमप्रालिद्वारा सञ्चालित, नेपाल राष्ट्र बैंकद्वारा अनुमतिप्राप्त भुक्तानी सेवाप्रदायक हो, जसले मोबाइल तथा वेबको माध्यमबाट आफ्नो बैंक खातामार्फत डिजिटल माध्यमबाट भुक्तानी तथा रकम स्थानान्तरण सेवा प्रदान गर्दछ । भुक्तानी सुरक्षित तथा विश्वसनीय बनाउनका लागि सेल–पेलाई विभिन्न अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुरक्षा प्रणालीभित्र रही विकास गरिएको छ । सेल–पेमार्फत गरिएको भुक्तानी वास्तविक समयमा हुन्छ । ग्राहकहरूले सेल–पेमा आबद्ध गरी सकिएका अन्य बैंकमा वा त्यहाँबाट सिभिल बैंकको खातामा दर्ता गरिएको मोबाइल नम्बरमार्फत रकम स्थानान्तरण गर्न सक्नेछन् ।
ग्राहकहरूले सेल–पे भुक्तानी सेवा रहेका स्थानहरूमा सेल–पेमार्फत अन्य व्यापारिक भुक्तानी गर्र्न सक्नेछन् । यसमार्फत मोबाइलको टप–अप, बिजुलीको बिल, खानेपानीको बिल, इन्टरनेटको बिल, टिभीहरूको बिल, स्वदेशभित्र गरिने रेमिट्यान्स पठाउन, पाउन, बीमा रकम भुक्तानी, ईएमआई भुक्तानी गर्न सकिने छ । विस २०६७ मङ्सिर १० मा स्थापना भएको बैंकले हाल एक सय १३ शाखाहरू, दुुईवटा एक्सटेन्सन काउन्टर र ८५ वटा एटीएममार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।