भेरीगङ्गा (सुर्खेत) । कात्तिक १७ गते राति आएको भूकम्पले जाजरकोट जिल्लाको नलगाड नगरपालिका–१ को चिउरी गाउँको चोचे टोल ध्वस्त भएको छ । अधिकांश दलित समुदाय रहेको यो बस्तीमा एक सय ८६ घरधुरी रहेकामा अधिकांश घर पूर्णरुपमा र केही घर आशिंक रुपमा क्षति भएपछि चोचे टोलका सबै नागरिक घरबारविहीन भएका हुन् ।
यहाँका सबै घर ध्वस्त भइसकेका छन् । खलङ्गाबाट डेढघण्टाको दूरीमा रहेको यो गाउँका बाँकी रहेका अन्य घर पनि बस्न नमिल्ने गरी चिराचिरा परेका छन् । पीडित अविलाल विकले भने, “हाम्रो यो गाउँमा अधिकांश दलित समुदाय बस्दै आएका थियौँ, वर्षामा समेत पहिरोले जोखिम पारेको हाम्रो टोललाई अस्ति आएको भूकम्पले स्वाहा नै बनायो ।”
अहिले सात सय व्यक्ति यो टोलका घरबारविहीन भएको उनले बताए । विकले भने, “हामी घरबारविहीन भयौँ आफन्त गुमायौँ, खानेकुरा घरमै पुरियो, लाउने कपडा पनि पुरियो, अस्तिदेखि भोकभोकै छौँ । केटाकेटी चिसोले हैरान भइसके ।”
चोचे गाउँका सबै व्यक्तिको पीडा उनी जस्तै छ । उनीहरुले अब आफन्त गुमाए पनि बाँचेकाको लागि गाँस र बाँसको व्यवस्था गरिदिन सरकारसँग माग गरेका छन् ।
चोचे टोलमा भूकम्पमा परी १४ जनाको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ । प्रहरीले मृत्यु हुनेमा पाँच बालबालिका, सात २० वर्ष माथिका र अन्य दुईजना ज्येष्ठ नागरिक रहेको बताएको छ । भूकम्पमा परी तेह्र जनाको घटनास्थलमै मृत्यु भएको र एकजनाको उपचारका क्रममा नेपालगञ्जमा मृत्यु भएको थियो । मृत्यु भएका अधिकांश व्यक्ति भारतमा रोजगारीका लागि गएर फर्किएका थिए । उनीहरु तिहार मनाउन घर फर्किएकामा तिहार मनाउन नपाउँदै मृत्यु भयो ।
स्थानीयवासी हीरा चंदाराको भदै तिहार मनाउन भारतबाट चाडबाडमा रमाइलो मनाउन गाउँ फर्किएकी उनको भूकम्पमा परी मृत्यु भयो । त्यसैगरी अन्य व्यक्ति पनि चाडबाडका लागि भारतबाट घर आएका थिए तर भूकम्पका कारण गाउँका सबैजनाको खुसी र हाँसो आँशुमा परिणत भएको छ ।
भुकम्पमा परेर मृत्यु भएका यो गाउँका १३ जनाको दाहासंस्कार हुनसमेत ढिलाइ भएको थियो । उनीहरुलाई निकाल्न नै समय लागेकाले दाहासंस्कार आज गरिएको हो । यो गाउँका पीडितलाई राहात र पुनःस्थापनाका लागि कुनै कसर बाँकी नराख्ने कर्णाली प्रदेश सरकारले प्रतिबद्धता जनाएको छ ।