काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा सुमन पोखरेल नियुक्त भएका छन् । आइतबार बसेको बैंकको सञ्चालक समितिको बैठकले पोखरेललाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । पोखरेलसँग दुई दशकभन्दा लामो बैंक तथा वित्तीय क्षेत्रमा काम गरेको अनुभव रहेको छ ।
वित्तीय संस्थाहरूको दीर्घकालीन व्यावसायिक योजना, रणनीति तर्जुमा तथा कार्यान्वयनमा अत्यन्त कुशल तथा नेतृत्वदायी भूमिका निर्वाह गरी कुशल व्यवस्थापकको रूपमा स्थापित पोखरेल यसअघि आईएमर्ई ग्रुपको वरिष्ठ उपाध्यक्षको भूमिकामा रही कार्य सम्पादन गरिसकेका थिए । नेपालको पहिलो रेमिट्यान्स कम्पनी आईएमर्ई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रही उक्त कम्पनीलाई थप उचाइमा पु-याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत पोखरेलले नेपालको सबैभन्दा ठूलो बैंकमा पुनः आबद्ध भई काम गर्ने अवसर प्राप्त गरेकोमा खुसी व्यक्त गर्दै बैंकलाई थप सबल र सुदृढ बनाउन आफ्नो भूमिका रहने बताए ।
ग्लोबल आईएमर्ई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले तीन सय ५२ वटा शाखा, तीन सय ६२ वटा एटीएम, तीन सय २२ शाखारहित बैंकिङ सेवा, ६६ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट ४५ लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।