नयाँदिल्ली । विषाक्त धुवाँबाट राजधानीवासीलाई केही राहत दिन नयाँदिल्लीमा एक साताका लागि निजी सवारीसाधनको प्रयोगमाथि रोक लगाइने अधिकारीहरूले सोमबार घोषणा भएको छ ।
तीन करोड जनसंख्या रहेको दिल्लीलाई प्रत्येक वर्ष हिउँदयामको सुरुमा विषाक्त धुवाँले ढाक्छ । छिमेकी कृषिप्रधान राज्यहरूमा किसानले पराल जलाएका कारण दिल्लीलाई धुवाँले ढाकेको हो । नयाँदिल्लीलाई संसारको सबैभन्दा धेरै प्रदूषित सहरमध्ये एक मानिन्छ । यहाँको वार्षिक धुवाँ प्रत्येक वर्ष सयौँ र हजारौँ मानिसको अकाल मृत्युको कारण बन्ने गर्छ ।
अहिलेसम्म सरकारको नेतृत्वमा गरिएका प्रयासले वायु गुणस्तरको समस्यालाई सम्बोधन गर्न सकेको छैन । सन् २०१७ को एक अमेरिकी अध्ययनअनुसार भारतमा प्रत्येक वर्ष १० लाख मानिसको अकालमा मृत्यु हुनेगरेको छ ।
दिल्लीका पर्यावरणमन्त्री गोपाल रायले सडक–रासन योजना दीपावलीको एक दिनपछि आगामी सोमबार एक साताका लागि ल्याइने जानकारी दिए ।
योजनाअन्तर्गत जोर र बिजोर नम्बर प्लेट भएका कारहरूलाई एक साताका लागि वैकल्पिक दिनमा यात्रा गर्न अनुमति दिइनेछ । मन्त्री रायले दीपावलीपछि प्रदूषण अझ बढ्न सक्ने भएकाले यस्तो निर्णय लिइएको बताए । उनले नोभेम्बर २० पछिको स्थितिको समीक्षा गरिने छ । रासस