काठमाडौं । हत्यामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । झापा र पर्सामा गरी दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
भिनाजुलाई खुकुरी र बाँस प्रहार गरी हत्या गरेको अभियोगमा झापास्थित बुद्धशान्ती गाउँपालिका–५ बस्ने ३५ वर्षीय रोशन अधिकारीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादमा अधिकारीले खुकुरी तथा बाँस प्रहार गर्दा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने ४५ वर्षीय धन बहादुर कट्वालको प्रादेशिक अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले अधिकारीलाई खुकुरीसहित पक्राउ गरेको हो ।
त्यस्तै, पर्सागढी नगरपालिका–४ हरदासपुर टोल बस्ने ५८ वर्षीय राजिन्द्र रामको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ५० वर्षीय आशा चौधारीलाई प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी उनीहरूबीच सोमबार साँझ कुटपिट तथा झै–झगडा हुँदा गम्भीर घाइते भएका उनको एलएस न्यूरो अस्पतालमा उपचारको क्रममा बुधबार साँझ मृत्यु भएको हो । दुबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।