कास्की । अर्थमन्त्री डा. प्रकाशशरण महतले घुमाउरोरुपमा नेपाल राष्ट्र बैंकले ल्याएको कसिलो मौद्रिककै कारण अर्थतन्त्रमा समस्या आएको बताएका छन् । बिहीबारदेखि राजधानी काठमाडौंमा सुरु भएको एसियाली बैंकर्स एसोसिएसन (एबीए)को ३९औँ वार्षिक सम्मेलनलाई सम्बोधन गर्दै विदेशी बैंंकरहरु समक्ष अर्थमन्त्री डा. महतले राष्ट्र बैंकको कडा नीतिकै कारण नेपालको अर्थतन्त्रमा समस्या देखिएको बताए । ‘मौद्रिक नीति कसिलो हुँदा मुलुकको समग्र अर्थतन्त्रमा नकारात्मक असर परेको छ, यो अवस्थालाई ध्यानमा राखेर राष्ट्र बैंकले तत्काल मौद्रिक नीति खुकुलो बनाउनु पर्छ’, उनले भने ।
पछिल्लो समय लगानीकर्ताहरुको मनोबल गिरेको भन्दै यो मनोबललाई कायम राख्दै उद्योगीहरुको आत्मविश्वासलाई कायम राख्नको लागि पनि मौद्रिक नीति लचिलो बनाउनुपर्ने अर्थमन्त्री महतले बताए । विगतमा राष्ट्र बैंकले उच्च मुद्रास्फीतिलाई नियन्त्रणमा राख्नको लागि मौद्रिक नीतिलाई कसिलो बनाएको भए पनि अब यसलाई निरन्तरता दिन नहुनेमा अर्थमन्त्री महतले जोड दिए । कसिलो मौद्रिक नीतिको नकारात्मक असर उत्पादकत्व, व्यापार र रोजगारीमा परेको भन्दै तत्काल मौद्रिक नीतिलाई खुकुलो बनाउनुपर्ने अर्थमन्त्री महतको भनाइ थियो ।
नेपालको जलविद्युत् क्षेत्रमा ठूलो सम्भावना भएको भन्दै अर्थमन्त्री महतले एसियाली बैंकका प्रमुखहरुलाई नेपालमा लगानी गर्न र लगानी बढाउन आग्रह समेत गरेका छन् । ‘भारतले १० वर्षमा १० हजार मेगावाट खरिद गर्नेछ’, उनले भने, ‘विश्व बैंक र एसियाली विकास बैंकले नेपालको जलविद्युत् क्षेत्रमा ठूलो लगानी गर्दै छ, यो अवस्थामा तपाईँहरु पनि नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्र्नुहोस् ।’
कार्यक्रममा गर्भनर महाप्रसाद अधिकारीले भने, मध्यपूर्वमा बढ्दै गएको इजरायल–हमास युद्ध र लामो समयसम्म रुस–युक्रेन संकटले मूल्य स्थिरता कायम राख्न चुनौती भएको बताए । उनले युद्धको असर नेपालको बैकिङ प्रणालीमा पर्न नदिन कसिलो मौद्रिक नीति ल्याएको जानकारी दिए । यसले गर्दा पछिल्लो समय उच्च ब्याजदरको अवस्था आएको भन्दै उनले उच्च ब्याजदरकै कारण ऋणको मागमा कमी आएको बताए । सोही कारण अहिले अर्थतन्त्र सुस्त भएको भन्दै उनले आर्थिक मन्दीले वित्तीय प्रणालीमा खराब कर्जा बढ्न सक्ने संकेत गरेको बताए । यो अवस्थामा एसियाली बैंकहरूले यी जोखिमलाई आत्मसात् गर्न र व्यवस्थापन गर्न सजग र सतर्क हुनुपर्ने गभर्नर अधिकारीले बताए ।
नेपाल बैंकर्स संघको (एनबीए)को पहलमा नेपालमा पहिलो पटक भएको एसियाली विकास बैंकरहरुको ३९औँ सम्मेलनमा नेपालसहित एसियाका २५ भन्दा बढी मुुलकका प्रतिनिधिहरु सहभागी छन् । सम्मेलनमा एबीएका अध्यक्ष यूजीन एस एसेभेडो, एसियाली विकास बैंकका निर्देशक अब्दुल अबियाद, फाइनान्सियल होल्डिङ कम्पनीका पूर्वअध्यक्ष र सीईओ डेनियल वू, ह्याटन नेसनल बैंकका कार्यकारी निर्देशक तथा प्रमुख अपरेटिङ अफिसर दिलशान रोड्रिगो, सिंगापुरको यूरेसिफिक स्ट्राटेटिजका सीईओ राफेल गोउ, बैंक अफ भुटानका सीईओ दोर्जी काडिन, यूकेको एबे नेसनलका पूर्वसीईओ जोन बेरी र असर्टे ग्रुप बैंक एजीका कार्यकारी निर्देशक पाल बोस्बाच र इन्टरनेसनल कम्प्लायन्स एसोसिएसन (आईसीए)का अध्यक्ष पेक्का डारेलगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
नेपालका तर्फबाट बंैंकर एसोसिएसनका अध्यक्ष सुनिल केसी, नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल, विद म्यानेजमेन्टका प्रमुख कार्यकारी सुजिव शाक्यलगायतका व्यक्तिहरुको सहभागिता थियो ।