काठमाडौं । सरकारले आज (शुक्रबार) १७ अर्ब ८५ करोड ५० लाख रुपैयाँबराबरको आन्तरिक ऋण उठाउने भएको छ । चालू आर्थिक वर्षमा सरकारको विभिन्न खर्चका लागि कुल दुई खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने दायित्व बोकेको राष्ट्र बैंकले आज यसअघि परिपक्व भइसकेको ट्रेजरी बिलको नवीकरण गरी सरकारका लागि ऋण उठाउन लागेको हो ।
बैंकका अनुसार आज अपराह्न साढे १२ बजेसम्म बोलकबोलको माध्यमबाट उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । कुल १७ अर्ब ८५ करोड ५० लाख रुपैयाँको ट्रेजरी बिलमध्ये ९१ दिने अवधिको आठ अर्ब र एक सय ८२ दिने अवधिको नौ अर्ब ८५ करोड ५० लाख रुपैयाँबराबरको रहेको छ । जारी मिति मंसिर एक तोकिएको ट्रेजरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले बोलकबोल पेस गर्न सक्नेछन् । यीमध्ये २८ दिन अवधिको ट्रेजरी बिलको परिपक्व हुने अवधि २०८० फागुन १ गते र एक सय ८२ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०८१ जेठ १ गते तोकिएको छ ।