रामपुर (पाल्पा) । देउसीभैलो खेल्ने नाममा समाजमा सहरबजारमा मात्र नभई गाउँघरमा परम्परागत संस्कृति संरक्षणभन्दा पनि आधुनिकताका नाममा विकृति–विसङ्गति बढ्दै गएको छ ।
सिर्जनशील दलित मुक्ति समाज रामपुर नगरपालिका–३ रजघरा पाल्पा तिहार अर्थात भाइटीकामा खेलिने देउसीभैलोमा मौलिकपन हराउन थालेपछि परम्परागत संस्कृति संरक्षणमा लागेको छ । समाजले गाउँ–गाउँमा देउसीभैलोमार्फत मौलिकता जोगाउन सन्देश दिएको छ ।
देउसीभैलोका नाममा अहिले भित्रिएको विकृतिलाई रोक्न सामूहिकरूपमा देउसीभैलो अभियानमा लागेको समाजका अध्यक्ष देवबहादुर विक बताउँछन् । समाजले गत वर्ष रु. एक लाख ६० हजारको विभिन्न वाद्यवादनका सामग्री खरिद गरेको अध्यक्ष विकले बताए ।
पहिला–पहिलाको देउसीभैलोको तुलनामा हिजोआज धेरै फरक रहेको समाजका ज्येष्ठ सदस्य मोहनबहादुर विकले बताए । आधुनिकताले परम्परागत संस्कृतिमा विकृति भित्रिएकामा उनी चिन्तित छन् ।
बालबालिका, युवा, उमेर ढल्कदो अवस्थाका व्यक्ति बाजा बजाउँदै देउसीभैलोमा गाउँ–गाउँमा पुग्दा मौलिकता जोगाउन गरेको यस कार्यमा घरभेटीले खुसी हुँदै दानदक्षिणा दिने गरेको देउसीभैलोबाट सङ्कलित रकम सामाजिक कार्यमा लगाउने युवा मनु विक बताउँछन्। नयाँपुस्तालाई पुरानो परम्परा, रीतिरिवाजबारे अवगत गराउँदै अर्काको देखासिकी नभई मौलिकरूपमा नै चाडपर्व, संस्कार, संस्कृति मनाउन समाजले देउसीभैलोमार्फत अनुरोध गरेको छ ।
मौलिकता जोगाउन नभई मनोरञ्जनका लागि मात्रै देउसीभैलो खेल्ने गर्दा परम्परागत संस्कार, संस्कृति लोप हुँदै जान थालेको छ । देउसीभैलोबाट चाडपर्व मनाउने नाममा विकृति विसङ्गति भित्रिन नदिन दलित मुक्ति समाजले गरेको यस कार्यलाई सबैले सकारात्मकरूपमा लिएका छन् । आफ्नो समाजभित्र हुने विभिन्न सामाजिक कार्य, अप्ठ्यारोमा परेका परिवारलाई सहयोग गर्दै आइरहेको समाजले जनाएको छ ।
पश्चिमा संस्कृतिको देखासिकी र प्रभावले पुराना परम्परा हराउँदै गएको छ भने देउसीभैलोमा मौलिकपन नहुँदा खल्लो लाग्न थालेको पाकापुस्ताको बुझाइ छ । बलिराजाका पालादेखि नै समूह बनाएर देउसीभैलो खेल्ने चलन अझ पनि कायमै छ । तर पहिलेको तुलनामा भने हिजोआज देउसीभैलो खेल्न निस्कने समूह कमै मात्रामा भेटिन्छन् । उज्यालै उज्यालोको पर्वका रूपमा लिइने तिहार दाजुभाइ र दिदीबहिनीबीचको मायाप्रेम प्रगाढ बनाउने पर्व हो ।