दमौली (तनहुँ) । शुक्रबार तनहुँको आँबुखैरेनी–३ मा निर्मित अस्पतालको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका छन् ।आँबुखैरेनी गाउँपालिकाले गत वर्षको मङ्सिर १ गतेदेखि स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी अस्पतालका रुपमा सेवा सुरु गरेको थियो ।
प्रधानमन्त्री दाहालले सञ्चालनमा आएको एक वर्षपछि उक्त अस्पतालको उद्घाटन गरेको हो । अस्पतालबाट आकस्मिक, आधारभूत प्रयोगशाला, एक्स–रे, भिडियो एक्स–रे, इसिजी, फार्मेसीलगायत सेवा सुरु गरिएको छ । गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले अस्पतालमा एक जना वरिष्ठ चिकित्सक र दुई जना मेडिकल अधिकृतको व्यवस्था गरिएको जानकारी दिए ।
अस्पतालमा एक्स–रे मेसिन नहुँदा यस भेगका जनता सेवा लिनका लागि छिमेकी चितवनको भरतपुर वा अन्यत्रै जानुपर्ने बाध्यता थियो । अस्पतालमै सेवा सुरु हुने भएपछि आँबुखैरेनीका अतिरिक्त गोरखाका केही पालिकाका सर्वसाधारणले सहजरूपमा सेवा पाउने गाउँपालिकाका अध्यक्ष चुमानले बताए ।
गाउँपालिकाले आँबुखैरेनी अस्पतालको स्तरोन्नतिलाई प्राथमिकतामा राखेको छ । आगामी आर्थिक वर्षमा अस्पतालबाट शल्यक्रिया सेवा सुरु गरिने चुमानको भनाइ छ । उनले भने, “ठूला शल्यक्रिया गर्नुपरेमा महिनामा एकपटक विशेषज्ञ चिकित्सक ल्याएर सेवा दिइनेछ । केही शल्यक्रिया भने नियमितरूपमा अस्पतालमै हुनेछ ।”
अस्पताललाई एक सय शय्या क्षमताको अस्पताल बनाउनसमेत पहल भइरहेको भन्दै आँबुखैरेनी तथा आसपासका जिल्लाका सर्वसाधारणलाई गाउँठाउँमै स्वास्थ्य सेवा दिन एक सय शय्या क्षमताको अस्पताल आवश्यक रहेको चुमानले बताए ।