बर्दिया । बर्दिया गुलरिया नगरपालिका–६ गुलरिया बजार बस्ने २० वर्षीय बरूण घिमिरेलाई विभिन्न हातहतियार प्रयोग गरी कुटपिट गरी हत्या गरेको अभियोगमा आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गुलरिया नगरपालिका बस्ने २३ वर्षीय सुलभ थापा, सोही नगरपालिका ज्योति नगर बस्ने २४ वर्षीय धिरज ठाकुर, सोही नगरपालिका कृण्णसार टोल बस्ने १८ वर्षीय किशोर, गुलरिया नगरपालिका बंगलामुखिटोल बस्ने १९ वर्षीय दिपेश बुढामगर, सोही नगरपालिका कोठिया बस्ने १९ वर्षीय सन्दिप थारू, सोही नगरपालिका गंगानगरटोल बस्ने १९ वर्षीय दिनानाथ चौधरी, सोही नगरपालिका गणेशचोक बस्ने १८ वर्षीय किशोर र ठाकुरबाबा नगरपालिका बिदुरपुर बस्ने २३ वर्षीय तर्क भण्डारी रहेका छन् ।
गुलरिया नगरपालिका–५ सुहेलवामा उनीहरूले कात्तिक २७ गते राति विभिन्न हातहतियार प्रयोग गरी कुटपिट गर्दा गम्भीर घाइते भएका बरूणको उपचारको लागि बर्दिया अस्पतालबाट नेपालगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।
प्रहरीले घटनामा प्रयोग भएको चक्कु, नोखलगायतका विभिन्न हातहतियारसमेत बरामद गरेको छ । घटनामा संलग्न हाल फरार अन्य तीन जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भइराखेको प्रहरीले बताएको छ ।