काठमाडौं । सरकारले प्रतिबन्ध गरेको टिकटक चलाउन पाउनुपर्ने माग राख्दै राजधानीको माइतीघर मण्डलामा केही युवाहरुले प्रदर्शन गरेका छन् । सरकारले टिकटक प्रतिबन्ध गरेको विरोधमा टिकटकरले आज(सोमबार) माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।
‘जनताको बोल्ने अधिकारको सुनिश्चित गर, टिकटक होइन जाजरकोटलाई ध्यान दे, टिकटक प्रतिबन्ध खारेज गर’,लगायतका नारा अंकित प्लेकार्ड बोकेर उनीहरुले प्रदर्शन गरेका छन् । उता आजै सर्वोच्चमा टिकटक प्रतिबन्धविरुद्ध दायर रिटमा सुनुवाइ पनि हुँदै छ । टिकटक प्रतिबन्धविरुद्ध परेका १० रिटको सुनुवाइ न्यायाधीश डा.कुमार चुडालको इजलासमा तोकिएको छ ।
गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो । सोही निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको हो । सामाजिक सदभाव बिग्रिन थालेको भन्दै सरकारले टिकटक बन्द गर्ने निर्णय गरेसँगै यो निर्णय बदरको माग गर्दै अधिवक्ता दिनेश त्रिपाठी, त्रिलोकबहादुर चन्द, प्रेमराज सिलवाल, सुनिलरञ्जन सिंह, भद्रप्रसाद नेपाल(स्वागत), अञ्जन धिताल, रामकृष्ण बञ्जारा, यज्ञमणि न्यौपाने, फर्सुराम पाण्डेलगायतले सर्वोच्चमा रिट दिएका थिए ।
