नयाँदिल्ली । भारतीय रुपैयाँ (भारु) अमेरिकी डलरको तुलनामा कमजोर बन्दै गएको छ । सोमबार भारुको कारोबार एक अमेरिकी डलबरबराबर ८३ रुपैयाँ ३३ पैसा कायम भएको छ । गत शुक्रबार अमेरिकी एक डलरबराबर भारतीय रुपैयाँ ८३ रुपैयाँ २६ पैसा थियो ।
पछिल्लो समय डलरको तुलनामा भारतीय मुद्रा कमजोर बन्दै गइरहेको छ । कच्चा तेलको मूल्यमा भएको वृद्धि, वैदेशिक लगानी पलायन, उत्पादनमा कमी, उच्च ब्याजदरलगायतका कारण भारतीय अर्थतन्त्र प्रभावित भइरहेको छ । महँगी उच्च हुँदा स्थानीय मुद्राको क्रयशक्तिमा ह्रास आएको छ ।
दुई÷तीन महिनायता भारतबाट विदेशी लगानीकर्ताहरु बाहिरिने क्रम बढेको छ । सेयरबजारबाट सेयर बिक्री गरी बाहिरिने लगानीकर्ताको संख्या बढ्दै गएको देखिन्छ । सेप्टेम्बर र अक्टोबारमा मात्रै विदेशी लगानीकर्ताले भारतीय बजारमा चार खर्ब भारतीय रुपैयाँबराबरको सेयर बेचेका थिए । नोभेम्बर महिनामा पनि विदेशी लगानीकर्ताले सेयर बिक्री गर्ने क्रम उच्च छ ।
भारतको मुद्रास्फीति नै करिब छ प्रतिशत हाराहारी छ । भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाले यस आर्थिक वर्षमा पाँच दशमलव चार प्रतिशत मुद्रास्फीति रहने प्रक्षेपण गरेको छ । यद्यपि योभन्दा माथि रहन सक्ने अनुमान विश्लेषकहरुको छ ।
भारतीय मुद्रा कमजोर बन्दा नेपाली रुपैयाँ पनि अवमूल्यन हुन्छ । किनभने नेपाली रुपैयाँको भारुसँग स्थिर विनिमय दर छ । त्यसैले भारतीय रुपैयाँमा आएको उतारचढाको असर नेपाली रुपैयाँमा पर्छ । भारतीय रुपैयाँ कमजोर हुँदा नेपली रुपैयाँको क्रयशक्ति पनि कमजोर हुन्छ ।