काठमाडौं । सुनजस्तो देखिने करिब १४ लाखबढी मूल्य बराबरको पहेंलो धातुसहित चार जना पक्राउ परेका छन् । प्रहरीका अनुसार रसुवागढी नाकामा तीन जना र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना गरी चार जना पहेंलो धातुसहित पक्राउ परेका हुन् ।
रसुवास्थित गोसाईकुण्ड गाउँपालिका–२ रसुवागढीबाट करिब १३ लाख ८८ हजार ४ सय रुपैयाँ बराबरको १२ तोला तौलको सुनजस्तो देखिने पहेंलो धातुसहित तीन जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा आमाछोदिङ्मो गाउँपालिका बस्ने २९ वर्षीय सुरेश तामाङ, ३७ वर्षीय निमा टासी तामाङ र गोसाइकुण्ड गाउँपालिका बस्ने २३ वर्षीय ड्वाङ लोप्साङ तामाङ रहेका छन् ।
नेपाल–चीन सीमानाको रसुवागढी नाकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा भन्सार कार्यालयबाट संयुक्त रूपमा खटिएको टोलीले चीनबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई तीन थान बेरूवा औंठीको रूपमा ल्याएको उक्त धातुसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
त्यसैगरी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटबाट अवैध रुपमा भन्सार छली लैजान लागेको सुनजस्तो देखिने पहेलो धातु करिब २७२.३७ ग्रामसहित काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका घर भएका ३९ वर्षीय राम सुन्दर श्रेष्ठलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त गेटमा जाँच गर्ने क्रममा तीन थान बेरूवा औंठीको रूपमा ल्याएको ५४.९७ ग्राम र पेन्टीभित्र फल्स बटम बनाई प्लाष्टिकले बेरेर ल्याएको सुन जस्तो देखिने पहेँलो रंगको अर्धठोस वस्तु करिब २१७.४० ग्रामसहित उनलाई पक्राउ गरेको हो । बरामद सुनसहित उनलाई भन्सार कार्यालय सिनामंगल बुझाइएको छ ।