काठमाडौं । भारतको राजस्थानको खरन्टिया गाउँमा सन् १९३३ (कतैकतै १९३५ उल्लेख भएको)मा जन्मिएका पाखण्डी गुरु नाराणदत्त श्रीमाली पं. मुलतानचन्द्र श्रीमालीका छोरा हुन् । उनले ज्योतिषी पेसाबाट करोडौँ कमाइसकेका थिए । त्यसपछि उनले कथित तान्त्रिक बनेर दुनियाँलाई बेबकुफ बनाएर सोझासिधा मानिसहरूलाई जालमा फसाई ठग्ने काम सुरु गरे । राजस्थानको जोधपुरमा बसेर यसका लागि उनले ‘मन्त्र–तन्त्र–यन्त्र विज्ञान’ नामको पत्रिका प्रकाशन गर्न थाले । उक्त पत्रिकामा लोपोन्मुख पशुपन्छीका अंगहरू (भालुको पित्त, कस्तुरीको बिना, स्यालको सिङ, कालो बिरालोको नाल, घोडाको नाल, पशुपन्छीका दाँत, नङ्ग्रा आदिको विज्ञापन गर्न थाले ।
अन्धविश्वासीको संख्या ज्यादै भएको भारतमा त्यहाँका सोझा मानिसहरू उनको जालोमा पर्न थाले र उनले ३५ वर्षअघि नै भारतका नौ सहरमा ठूलो मात्रामा जग्गाजमिन जोडिसकेका थिए । उनको आश्रममा अकल्पनीय नगदी कारोबार भएको थाहा पाएपछि राजस्व विभागले छापा मारेर नौ सहरहरूमा रहेको उनको जमिन सबै अवैध ठहराएको थियो भने लालपुर्जा, नगद र रसिद जफत भएको थियो । साथै बैंक लकर समेत सिल गरिएको थियो ।
पछि उनलाई भगवान् बन्ने चाहना भएपछि मनगढन्ते कुराहरू रचेर विभिन्न पुस्तकहरू प्रकाशन गर्न थाले । ती पुस्तकहरूमध्ये काल्पनिक कुराहरू लेखिएको ‘तान्त्रिक सिद्धियाँ’ पुस्तक ज्यादै बिक्री हुनेगर्छ । जुन पुस्तकमा काल्पनिक शिष्यहरूले गुरुको आशीर्वादबाट आफ्नो जीवनमा निकै सुधार भएको, प्रगति भएको सुखशान्ति भएको, निरोगी भएको भन्ने कुराहरू उल्लेख छन् । तान्त्रिक सिद्धियाँमा प्रकाशित गुरुलाई सम्बोधन गरी पठाएका पत्रहरू शिष्यहरूले भने ठेगाना उल्लेख गरेका छैनन् । किनकि ठेगाना पत्ता लागेपछि कसैले सोध्ने नै भए र गुरुको पर्दाफास हुनेभयो । उक्त तान्त्रिक सिद्धियाँ नामक श्रीमालीको पुस्तकमा उल्लिखित कर्णपिशाचिनी साधनामा गुरुले भनेबमोजिम शिष्यले दुई महिनासम्म आफ्नै मलमूत्र सेवन गरेर साधना गरेको कुरा उल्लेख छ । कुनै पनि दिनमा थाल नमाझेरै त्यही थालमा मलमूत्र थापेर शिष्यले दुई महिनासम्म सेवन गर्दै गरेको र दुईमहिने साधनापछि शिष्यको प्रगति हुँदै गएको र अथाह सम्पत्ति कमाएको कुरा उल्लेख छ । साधनामा शिष्यले ५५ टनको नरमुण्डमाला लगाएको कुरा पनि उल्लेख छ । जो असम्भव नै छ ।
त्यस्तै तान्त्रिक सिद्धियाँको अनंग साधनामा ‘काठमाण्डू से १५० माइल दूर कोसाना गावँ मे रहनेवाला शंशेर वहादुर राणा जो मजदूरी करतेथे’ भनी उल्लेख गरिएको छ । राणाले गुरुको आशीर्वाद र साधनाले सन्तान प्राप्त गरेको झुटो कुरा उल्लेख गरिएको छ । कोसाना गाउँ नेपालमा नभएर राजस्थानमै छ । राणाहरूले शमशेर शब्द बीचमा राख्छन् । यस कहानीमा नामको पहिले नै उल्लेख छ । अर्को कुरा राणाहरू गाउँमा बस्दैनन् र मजदुरी पनि गर्दैनन् । यी शतप्रतिशत झुटा कुरा हुन् ।
तान्त्रिक सिद्धियाँकै अर्को तारा साधनामा गुरुको आशीर्वादबमोजिम शिष्यले हरेक बिहान सिरानीमुनि एक तोला सुन भेट्टाउने गरेको गलत कुरा उल्लेख गरिएको छ । त्यसरी साधना गरेर तोलाका तोला सुन पाइने भए श्रीमालीलाई किन दुनियाँलाई ठगेर अरबपति बन्नुप¥यो ? आफैँ त्यो साधना गरे हुँदैनथ्यो ?
अन्धभक्त शिष्यहरूका अनुसार गुरु नारायणदत्त श्रीमालीले तामालाई सुनमा परिणत गर्थे भन्ने पनि गरिन्छ । यदि तामालाई सुनमा परिणत गर्नेले किन दुनियाँलाई भ्रममा पारेर तमाम यन्त्र, मालालगायतका सामग्रीहरू महंगो मूल्यमा बेच्नुपरेको थियो ?
श्रीमालीले भारतका पिछडिएका जनतालाई ठग्दै झन् गरिब बनाउँदै गए भने उनी २०४७ सालमा काठमाडौंमा आई ठगीधन्दा गर्न थाले र साधना शिविर चलाए । यिनको अलग धर्म (निखिल धर्म) नेपालमा भित्र्याउने जिम्मा काठमाडौंका सनदकुमार अधिकारी र जयन्ती लामा तथा वुटवलका एसके धितालको थियो ।
जोधपुर उच्च अदालतले श्रीमालीको पत्रिका मन्त्र–तन्त्र–यन्त्र विज्ञान बन्द गराएपछि जेठा छोरा नन्दकिशोरले ‘निखिल मन्त्र विज्ञान’, माहिला छोरा कैलाश चन्द्रले ‘प्राचीन मन्त्र विज्ञान’ र कान्छा छोरा अरविन्दले ‘नारायण मन्त्र साधना विज्ञान’ प्रकाशन गरी दुनियाँलाई ठग्न सुरु गरे । श्रीमालीको आश्रममा बोक्सीप्रथा संरक्षण गर्नुपर्छ भन्ने लेख भएको पत्रिका पनि फेला पर्छ । भारतको चण्डी नामको पत्रिकाले लामो समयसम्म श्रीमाली र यिनका पाखण्डको विरोधमा कलम पनि चलाएको थियो ।
शिष्यहरूलाई हजारौँ वर्ष जीवित रहने सिद्धाश्रममा लैजानको लागि ‘सिद्धाश्रम प्रवेश साधना’ भन्दा अगाडि सयौँ साधनाहरू गर्न लगाउने र साधनाका लागि चाहिने सामग्रीहरू महँगो मूल्यमा भिडाउने गर्दै आइरहेका छन् । गुरुका फोटो, गुरुको पाउको फोटो, च्यादर, आसनलगायतका सामग्रीबाटै यिनले करोडौँ कमाइसकेका छन् । तन्त्र–मन्त्र–यन्त्रसम्बन्धी भ्रामक पुस्तकहरू पनि अन्धभक्तहरूले नाइँनास्ती नगरी खुरुखुरु किन्दै आएका छन् । कवच, औँठी, माला, साधना सामग्री चर्को मूल्यमा बिकाउनकै लागि गरिएका विज्ञापनमार्फत श्रीमालीकै भ्रामात्मक पुस्तकहरू भिडाउने गरेका छन् । श्रीमालीका कोही–कोही शिष्यहरूले त आफ्नो गोत्र तथा थर नै निखिल राखिसकेका छन् । कसैले त आफ्नो थर परिवर्तन गरी श्रीमाली पनि राख्नेगरेका छन् ।
कलाकार मोहन निरौला, शिशिर सापकोटा पनि यसमा फसेका छन् । सापकोटा हाल हैदरावादमा जोगीको भेषमा छन् । उनले नेपाल टेलिभिजनबाट प्रशारण हुने ‘देवी’ नामको टेलिसिरियलमा अभिनय गरेका थिए भने निरौला श्रीमालीका भ्रमपूर्ण पुस्तक पढेर दिन बिताइरहेका छन् ।
आश्रममा तर्क निषेध
शिष्यहरूले आश्रम प्रवेश गर्दा छालाको जुत्ता र पेटीका साथै तर्कसमेत बाहिर राख्नुपर्छ । आश्रममा तर्क निषेध गर्नुको तात्पर्य नै शिष्यहरूले आश्रमबाट जे–जे आदेश हुन्छ त्यही–त्यही मान्नुपर्ने हुन्छ र लुट्न सजिलो हुन्छ । जोधपुरमा निर्मित एक सय रुपैयाँको मालालाई आश्रमले एक हजार रुपैयाँसम्ममा बिक्री गर्नेगरेको छ । शिष्यहरूको आँखामा पट्टी लगाएपछि अर्थात् तर्क निषेध गरेपछि अरु के नै चाहियो र ? त्यस्तै २० रुपैयाँको तामाको टुक्रालाई बुट्टा भरेर यन्त्र भन्दै दुई हजारसम्ममा बिक्री गर्नेगरेको पाइन्छ । साधना गर्नको लागि अन्य शास्त्रहरूबाट मन्त्रहरू चोरी गरी वा आफैँ मनगढन्ते मन्त्रहरू रचना गरी शिष्यहरूलाई साँझबिहान मात्र होइन आधा रातमा उठेर पनि साधना गर्नुपर्ने हुन्छ । बिहान तीन घन्टा र साँझ पनि घन्टौँ साधना गर्दा घर–घरमा नकारात्मक असर परेको छ ।
कम्प्युटरको फोटोसपबाट निर्मित श्रीमालीको शिवरूप निखिलेश्वरानन्दको फोटोबाट पनि शिष्यहरू निकै आकर्षित हुनेगरेका छन् । सबैभन्दा शक्तिशाली भगवान् नै निखिलेश्वरानन्द हुन् भनी कुरा गर्छन् । शिष्यहरूबाट असुलेको मोटो रकमबाट शिविर निकै झकिझकाउ पारिएको हुन्छ । दीक्षा मन्त्रको लागि अलग्गै र शिविरको लागि अलग्गै मोटो रकम असुल्दै आएका श्रीमालीका तीन छोराहरूले टेलिपैथी उपचार (फोटो जोधपुर पठाउने र कथित गुरुले त्यसमा रातो मसीले दस्तखत गरेर आएपछि नागदोषलगायतका समस्या समाधान) गर्ने नौटङ्की पनि हुँदै आएको छ । यसको लागि पनि मोटो रकम असुल्दै आइरहेका छन् ।
नारायणदत्त श्रीमाली १९९८ मा प्यारालाइसिस र किड्नीको समस्याले लिलावती अस्पताल मुम्बईमा छटपटाएर मरे पनि शिष्यहरू सिद्धाश्रमको सिद्धयोगा झिलमा पौडिएर निखिलेश्वरानन्दको रूपमा पानीमाथि निस्किनुभएको र सिद्धाश्रमको सञ्चालक भएर त्यतैबाट हामीलाई आशीर्वादको वर्षा भइरहेको भन्ने भ्रममा छन् ।
के हो नारायणदत्त श्रीमाली उर्फ निखिलेश्वरानन्दले सञ्चालन गर्ने भनिएको सिद्धाश्रम ?
चीनियाँ भाषामा सांग्री–ला, शाम्भाला र हिन्दीमा ज्ञानगंज वा ज्ञानकुंज पनि भनिने सिद्धाश्रम तिब्बतमा रहेको मानसरोवरको आसपासमा रहेको छ । जहाँ अहिलेसम्म कोही पनि जान सकेका छैनन् । विश्वामित्रलगायतका ऋषिहरूले सिद्धाश्रममा यज्ञ गरेको भनी शास्त्रहरूमा उल्लेख भएको पाइन्छ । विशुद्धानन्दले मात्र सिद्धाश्रममा पुगेर आएको समाचार छ । श्रीमालीका शिष्यहरूले सिद्धाश्रमको सामुन्ने स्वर्ग अत्यन्त तुच्छ छ भन्नु नै हिन्दु धर्मको ठूलो अपमान हो ।
श्रीमालीका तीनवटै छोराहरू शिष्यहरूलाई आशीर्वाद र ज्ञान प्रदान गर्न नेपालमा पालैपालो आउँछन् तर जोधपुर उच्च अदालतमा सम्पत्तिका लागि जेठा छोरा नन्दकिशोर र माहिला छोरा कैलाशचन्द्रबीच मुद्दा चलिरहेको छ । एक–आपसमा मुद्दा लड्नेले के ज्ञान प्रदान गर्लान् नेपाली अन्धभक्तहरूलाई ?
नारायणदत्त श्रीमालीले रचना गरेको केटीलाई केटा बनाउने मन्त्र पनि छ । त्यसलाई अन्धभक्त शिष्यहरूले कसरी स्वीकारेका छन् अचम्मै छ ।
आश्रम भनिए पनि श्रीमालीको जोधपुर दरबारले प्रवचन क्यासेट, साधना विधि क्यासेट, भजन क्यासेट बिक्रीबाट मात्रै करोडौँ कुम्ल्याएका छन् । नारायणदत्त श्रीमालीले प्रकाशन गर्दै आएको मन्त्र–तन्त्र–यन्त्र विज्ञान र अहिले तीन छोराहरूले प्रकाशन गर्दै आएका तीनओटै पत्रिकामा दुर्लभ, गोपनीय र रहस्यमय भन्ने शब्दहरू धेरै प्रयोग गर्दै आइरहेको पाइन्छ ।
श्रीमालीका एक जना शिष्यले महाकाली साधना गर्दा मन्त्र–तन्त्र–यन्त्र विज्ञान पत्रिकामा रहेको श्रीमालीको फोटो जुरुक्कै उठेर महाकाली मातालाई थप्पड हानेर भुइँमा लडाएको कुरा उल्लेख छ । जगतजननी महाकाली मातालाई थप्पड हानेर लडाउने नारायणदत्त श्रीमाली राक्षस हुन् कि अन्धभक्तहरूको भगवान् ?
गोरक्ष निखिल वाणी पत्रिका प्रकाशन गर्नुको कारण
नेपालीहरूले गोरखनाथलाई महायोगी मान्छन् । नारायणदत्त श्रीमाली उर्फ निखिलेश्वरानन्दका एजेन्टहरूले नेपालीहरूलाई बेबकुफ बनाउन सजिलो होस् भन्ने हेतुले गोरक्षनिखिल वाणी पत्रिका प्रकाशन गर्न सुरु ग¥यो, सिद्धाश्रम शक्ति केन्द्रले । यसरी नेपालमा शिष्यहरूको संख्या दिनानुदिन बढ्दै जान थाल्यो । उक्त पत्रिकाले गोरखनाथको थोरै र श्रीमालीको यथेष्ट मात्रामा गुनगान गाउन थाल्यो ।
निखिल साधक परिवारको नामबाट पनि यी तमाम धन्दाहरू चलिआएका छन् । जसले श्रीमाली शक्तिशाली भगवान् दाबी गरिरहेको छ । श्रीमालीका चम्चाहरूले हिन्दु धर्मविपरीत क्रियाकलाप गरेको कुरा विश्व हिन्दु महासंघमा गुनासो गर्दा तत्कालीन सभापति निलप्रसाद भण्डारीले यो हठयोग हो मात्र भने ।
धनवर्षा, लक्ष्मी प्राप्ति, आरोग्यता, सुन्दरता, मुद्दा जितिने, शत्रुनाश, पारिवारिक शान्ति हुन्छ भन्दै मन्त्र र सामग्री बेच्दै आएका श्रीमालीका हर्ताकर्ताहरू पैसा कमाउनकै लागि पार्टी फुटेझैँ फुट्दै आइरहेका छन् । सबैभन्दा ठूलो नेटवर्किङ बिजनेस बसुन्धरास्थित सिद्धाश्रम शक्ति केन्द्रबाट सञ्चालित छ । तीन जना सदस्य बनाएमा पत्रिका, यन्त्र सित्तैमा भनेर पनि विज्ञापन गरेको देखिन्छ यिनीहरूका दस्ताबेजहरूमा । श्रीमालीको जेठो छोरा नन्दकिशोरका एजेन्टले ज्ञानेश्वरमा अन्तर्राष्ट्रिय सिद्धाश्रम साधक परिवार नामको आश्रम चलाउँछन्, माहिलो छोरा कैलाशचन्द्रका एजेन्टले पशुपति क्षेत्रमा अन्तर्राष्ट्रिय कैलाश सिद्धाश्रम र कान्छो छोरा अरविन्दका एजेन्टले डिल्लीबजारको सांस्कृतिक केन्द्र भवनमा गुरुसेवा आश्रम चलाउँछन् । यी आश्रमहरूको नामबाट ठगीधन्दा सहजै सञ्चालन हुँदै आएको छ । कतै निखिल साधक परिवार त कतै निखिल शिष्य परिवारको नामबाट पनि ठगीधन्दा चलिरहेको पाइन्छ । विभिन्न नामका आश्रमहरूबाट काठमाडौंमा र बाहिर पनि धेरै स्थानमा यी धन्दाहरू चल्दै आएका छन् ।
मानसरोवरबाट कैलाश पर्वत जाने गेटभित्र छिर्न खोज्दा यी कथित गुरु नारायणदत्त श्रीमालीलाई चौकीदारहरूले उनलाई रोकेर फर्काइदिएका थिए र पछि निखिलेश्वरानन्दको रूपमा आएको पनि भनिन्छ ।
आश्रमको नाममा दिल्ली र राजस्थानलगायतका ठाउँहरूमा श्रीमालीका विशाल दरबारहरू छन् जहाँ धेरै शिष्यहरू फस्दै आइरहेका छन् । यता उनले नाम बेचीखाने गोरखनाथका मठहरू भने भग्नावशेषामा परिणत हुँदै गइरहेका छन् ।
भगवान् श्रीकृष्णको समेत निन्दा गर्ने श्रीमालीले हिन्दु धर्मको नाम नलिने, देवीदेवताको नाम उच्चारण नगर्ने, उनकै पत्रिकाहरूका कभरमा भने देवीहरूका फोटो राख्ने गरेका छन्, बिक्री होस् भन्नका खातिर र भ्रम पार्नको लागि ।
गोरखनाथ मठ थापाथलीका योगी डम्बरनाथका अनुसार श्रीमालीका शाखासन्तान सबै ठग हुन्, यिनीहरूले नेपालबाट वर्षेनी अरबौँ रूपैयाँ भारततिर लैजान्छन् । गोरखनाथ मठ मृगस्थलीका योगी देवनाथको भनाइअनुसार यिनीहरू हाम्रो प्राङ्गणमा हवन गर्न आउँछन् तर हामीसँग कुनै समन्वय गर्दैनन् । ठगै हुन् जस्तो लाग्छ ।
मानसिक रोग विशेषज्ञ डा. विश्ववन्धु शर्माले पनि यिनीहरू महाठग हुन् र यिनको जालोमा पर्नेहरू न्यून मानसिकताका व्यक्ति हुन् भनेका छन् । डाक्टर, इन्जियर, वकिललगायत विशिष्ट व्यक्तिहरू समेत यसको भ्रमजालमा फसिसकेका छन् ।
श्रीमालीका दलालहरूले तीर्थयात्राको नाममा शिष्यहरूबाट मोटो रकम उठाई आफ्नै प्रचारप्रसार गर्न मठमन्दिरको छेउमा साधना शिविर सञ्चालन गर्नेगरेका छन् । सँगै रहेको मन्दिर र देवीदेवताको बारेमा कुनै पनि कुरा उठाइँदैन ।
श्रीमालीका छोराहरू नेपाली अन्धभक्त शिष्यहरूलाई बेबकुफ बनाउन पटक–पटक काठमाडौं आउँदा आफू तारे होटेलमा बस्ने गर्छन् । होटेलबाट गाडी चढेर आएका फटाहा गुरुलाई शिविरबाहिरबाट आसनसम्म चेलाहरूले सुरक्षाघेरा बनाएर लैजाने गर्छन् । शिविरमा नारायणदत्त श्रीमाली उर्फ निखिलेश्वरानन्दको ठूला आकारका फोटोहरू राखेर श्रीमालीको महिमामण्डन गरिन्छ, महिला शिष्यहरूलाई समेत जनै धारण गर्न लगाइन्छ । प्रवचनपश्चात् श्रीमालीको भजन गाउँदै महिला शिष्यहरू फन्को मारिमारि नाच्छन् । नास्तिकझैँ लाग्ने यी गुरुहरूको मुखबाट कुनै पनि देवीदेवताको नाम उच्चारण हुँदैन । शिविर सकिएपछि मनगढन्ते मन्त्र र फलिफाप हुने भनिएका झुटा र महंगा सामग्रीहरूको बिक्रीपछि गुरुको खुट्टामा ढोगेर दाम चढाउने गरिन्छ । तत्पश्चात् गुरुले भोजन गरेर बाँकी रहेको जुठो प्रसादको रूपमा शिष्यहरूले ग्रहण गर्दछन् ।
दिल्लीमा श्रीमालीको अरबौंको नाफामूलक अस्पताल
२०४७ सालदेखि स्वयम् नारायणदत्त श्रीमाली नेपाल आएर तन्त्र, मन्त्र र साधनाको माध्यमबाट शिष्यहरूबाट करोडौँ ठगेका थिए भने उनको मृत्युपश्चात् तीनै छोराहरू (जसलाई त्रिमूर्ति पनि भनिन्छ) ठगीकार्यमा झनै सक्रिय हुँदै आएका छन् र नेपालबाट भारतमा ओसार्दै छन् अरबौँ रूपैयाँ । एउटा जोगीको संस्था ‘नारायणदत्त श्रीमाली ट्रस्ट’ले दिल्लीको पितम्पुरामा कसरी निर्माण गर्दै छ अरबौँको १३ तले पाँच सय ४५ बेडको अस्पताल ?
एकातिर गुरुहरूले शिष्यहरूबाट पैसा कुम्ल्याउँदै छन् भने श्रीमालीलाई निखिलेश्वरानन्दरूपी भगवान् साबित गर्न अन्धभक्त शिष्यहरू मरिमेटेका छन् । आफू ठगिएको अनुभव भए पनि श्रीमालीका लागि उनीहरूले खाएको कसम किमार्थ तोड्दैनन् । चावहिलका राकेश शर्माको श्रीमतीले श्रीमालीको भक्ति गर्न थालेपछि उनीहरूको सबै सम्पत्ति सखाप भएको कुरा २०६७ सालतिर नेपाल समाचारपत्रमा छापिएको थियो ।
श्रीमालीलाई किड्नीदान गर्नेले हालसम्म पैसा नपाएको पनि सुनिन्छ । श्रीमालीका एक जना एजेन्टबाट भारतमा कुनै एक व्यक्तिलाई अप्सरासँग सम्भोग गराइदिन्छु भनी तीन लाख रूपैयाँ लिएर बेपत्ता भएको खबर पनि छापिएको थियो । अहिले श्रीमालीका चेलाहरू भगवान् शिवको फोटोमा शिवको अनुहार हटाएर श्रीमालीको अनुहार राख्ने, विष्णु भगवान्को पनि त्यस्तै गर्नेगरेका छन् । श्रीमालीलाई बीचमा राखेर दायाँबायाँ शिव र कृष्णलाई सुरक्षाकर्मी बनाएर शिविर सञ्चालन गरेको फोटो पनि भेटिन्छ । हनुमानले छाती चिरेर सीतारामको होइन निखिलेश्वरानन्द निस्किएको फोटो पनि फेला पर्छ यिनीहरूको दस्ताबेजहरूमा ।
श्रीमालीको आपराधिक पृष्ठभूमितिर शिष्यहरूको ध्यान जाँदैन । गुरुले सुनाएका मीठा–मीठा कुरा मात्रै सुन्छन् किनकि उनीहरूको आँखामा पट्टी लागिसकेको छ । गुरुहरूले शिष्यहरूलाई तिमीहरूलाई सिद्धाश्रम पु¥याइदिन्छु जहाँ हजारौँ वर्ष जीवित हुन पाइन्छ, बूढो हुनै पर्दैन, कुनै पनि रोग लाग्दैन भन्दै सिद्धाश्रम प्रवेश साधना गराउने र मन्त्र र सामग्री बिक्री गर्नेगरेका छन् । राम १२ र कृष्ण १६ कलायुक्त थिए भने यी ठग गुरु ६४ कलायुक्त भनी प्रचार गरिएको छ । एटीएमबाट भारतबाटै पैसा निकाल्न सजिलो हुने भएकोले यी गुरुहरूले भारतीय लगानीको (पंजाब बैंक अफ इण्डियाको लगानीको) एभरेष्ट बैंक प्रयोग गरेका छन् । निखिलेश्वर, निखिल, निखिलेश्वरानन्दको नामबाट नेपालमा धेरै कम्पनी खोलिएका छन् । निखिलेश्वर महादेव कोटेश्वर, कपनलगायतका अन्य स्थानमा पनि बनाएका छन् । निखिलेश्वरमार्ग र टोल नै छ ।
गोरखनाथको नाम बेचेर कमाउधन्दा चलाउन बसुन्धरामा ‘गोरक्ष निखिल विद्याश्रम’ नामको विद्यालय पनि खोले । जहाँ ब्रह्माण्डको शक्तिशाली भगवान् निखिलेश्वरानन्द हुन् । ३३ कोटी देवीदेउता निखिलेश्वरानन्दको चरणमा लम्पसार पर्छन् भनी विद्यार्थीहरूलाई पढाइन्छ होला पनि । मरेपछि स्वर्ग होइन सिद्धाश्रम जानुपर्छ भन्ने भ्रम ती विद्यार्थीहरूलाई बाँडिन्छ होला । शिव नै निखिल र निखिल नै शिव भनी ज्ञान दिइन्छ होला ।
काठमाडौंमा साधना शिविर चलाउनुपूर्व यी ठगहरूले विभिन्न मन्दिरपरिसरमा आफ्नो ब्यानरहरू टाँगेर भक्तहरूलाई आकर्षण गर्नेगरेको पाइन्छ । ब्यानरमा नारायणदत्त श्रीमालीको ऋषिरूप अर्थात् कथित भगवान् निखिलेश्वरानन्दको फोटोले मान्छेहरूलाई भ्रमजालमा पार्दछ ।
हिन्दु देवीदेवतालाई नमान्ने यस पाखण्डी गुरु र तिनका एजेन्ट वा चेलाहरूलाई मन्दिरहरूमा ब्यानर टाँग्ने अधिकार कसले दिन्छ ? अलग्गै निखिल धर्म कायम गर्न खोज्ने अनि मन्दिरहरूलाई ब्यानर टाँग्ने थलो बनाउने ? यिनीहरूलाई शिविर सञ्चालनको लागि जैन निकेतनको हल, अग्रवाल भवनको हल र पशुपतिक्षेत्रमा रहेका सुमार्गी भवनको हल उपलब्ध भइरहन्छ । नारायणदत्त श्रीमालीले ‘मै गर्भस्थ शिशु को भी चेतना देता हुँ’ भनेको कुरा धेरै चर्चा हुनेगरेको छ ।
श्रीमालीको आफ्नो जन्ममिति कतै १९३३ त कतै १९३५ उल्लेख छ । आफ्नै मिति ठेगान नभएको ज्योतिषीले अरुको भविष्य र भाग्य कसरी निक्र्यौल गरेका थिए होलान्, कठै ! निखिलेश्वरानन्द भगवान् । ध्यान गर्ने सजिलो तरिका मकैको गेडा गनेर माला जप्दा पनि हुन्छ । इन्टरनेटमार्फत पनि ध्यानका तरिकाहरू निःशुल्क प्राप्त गर्न सकिन्छ । तर, यी ठग गुरुहरूले विभिन्न बहाना गरेर ध्यान सिकाएर तन, मन, धन लुट्ने गरेको देखिन्छ ।