काठमाडौँ । ४६ औँ इफाप्का सम्मेलनको उद्घाटन समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि निर्माण व्यवसायीहरूको महत्त्वपूर्ण भूमिका हुने बताएका छन् । उनले हरेक मुलुकको आर्थिक विकासमा भौतिक पूर्वाधारले महत्त्वपूर्ण भूमिका हुने बताए ।
सो अवसरमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनका कारण बढ्दै गइरहेको प्राकृतिक विपत्तिसँग जुध्नका लागि भौतिक पूर्वाधारको क्षेत्रमा काम गर्नेहरूले विशेष सतर्कता अपनाउन जरुरी रहेको बताए ।
राष्ट्रपति पौडेलले हालै नेपालको भ्रमण गरेका संयुक्त राष्ट्रसङ्घका महासचिवले पनि जलवायु परिवर्तनको एजेन्डालाई उच्च महत्त्व दिएको प्रसङ्ग स्मरण गराउदै कार्बन उत्सर्जनमा कटौती गरी प्रकृति सुहाउँदा पूर्वाधार निर्माणमा जुट्न सबैलाई आग्रह गरे । उनले अहिलेको विश्वलाई हेर्ने हो भने पनि भौतिक पूर्वाधारको क्षेत्रमा उल्लेख्य विकास गरेका मुलुकहरूले नै आर्थिक प्रगति गरेको बताए ।