काठमाडौं । सवारी साधनको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । बसको ठक्करबाट सर्लाहीका ९ वर्षीय बालक आदित्य पासवान र ट्रकको ठक्करबाट रुपन्देहीका ४३ वर्षीय पप्पु खाँनको मंगलबार मृत्यु भएको हो ।
सर्लाहीस्थित हरिपर नगरपालिका–८ जुटपानीस्थित सडकमा ना.२ क ११० नम्बरको बसको ठक्करबाट बसमा सवार सोही ठाउँ बस्ने बीरेन्द्र पासवानको छोरा ९ वर्षीय आदित्यको मंगलबार साँझ मृत्यु भएको छ । बस ब्याक गर्ने क्रममा ठक्कर दिँदा गम्भीर घाइते भएका उनको शुभ स्वस्तिक अस्पताल बर्दीवासमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै, रूपन्देहीस्थित सिद्धार्थनगर नगरपालिका–१ बेलहियास्थित सडकमा युपी ४५ टी ४५४५ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४३ वर्षीय खाँनको मंगलबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।