काठमाडौं । अहिले अर्थतन्त्रमा मन्दी छ । केही आर्थिक सूचकहरू सकारात्मक रहे पनि महँगी बढेको, उपभोग घटेको र ब्याजदर उच्च भएका कारण बजार चलायमान बन्न सकेको छैन । यसको असर बैंक तथा वित्तीय संस्थाहरूको नाफामा पनि स्पस्ट देखिएको छ । तर, बीमा कम्पनीहरूलाई भने आर्थिक मन्दीले छोएकोे देखिँदैन ।
नेप्सेमा सूचीकृत ११ जीवन बीमा कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरणले जीवन बीमा कम्पनीहरू व्यवसायमा सहज देखिएका छन् । कम्पनीहरूको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ ।
असोज मसान्तसम्म ११ वटा बीमा कम्पनीले एक अर्ब ४८ करोड ५० लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । जुन गतवर्षको पहिलो त्रैमासको तुलनामा ३० दशमलव ४५ प्रतिशतले बढी हो । गत वर्ष सो अवधिमा जीवन बीमा कम्पनीले एक अर्ब १३ करोड ६५ लाख रुपैयाँ खुद मुनाफा कमाएका थिए ।
बीमा कम्पनीहरूको बीमा शुल्क बढेको, कर्जा र लगानी बढेकोले खुद नाफा बढेको देखिएको हो । सबैभन्दा धेरै खुद नाफा हिमालयन लाइफ इन्स्यारेन्सले कमाएको छ । यो कम्पनीले २४ करोड १३ लाख ९७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा ३५ दशमलव ३८ प्रतिशत बढी हो ।
हिमालयन लाइफपछि सबैभन्दा धेरै नाफा एसियन लाइफ इन्स्योरेन्सको छ । यो कम्पनीले १६ करोड ६१ लाख ६६ हजार रुपैयाँ मुनाफा कमाएको छ । यसपछि सन नेपाल लाइफ इन्स्योरेन्सले १६ करोड ५३ लाख, नेपाल लाइफले १५ करोड ७९ लाख, सूर्यज्योति लाइफले १३ करोड २१ लाख, आईएमई लाइफले १३ करोड तीन लाख, नेसनल लाइफले १३ करोड दुई लाख, रिलायबल नेपाल लाइफले ११ करोड ९४ लाख, सानिमा रिलायन्सले ११ करोड आठ लाख, सिटिजन्स लाइफले सात करोड १४ लाख र लाइफ इन्स्योरेन्स कर्पोरेसनले पाँच करोड ९७ लाख रुपैयाँ नाफा कमाएका छन् ।
सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा सबैभन्दा बढी दुई सय ६३ दशमलव ३२ प्रतिशतले बढेको छ । त्यसपछि सानिमा लाइफको नाफा एक सय २८ दशमलव ३८ प्रतिशतले बढेको छ ।
नेपाल बीमा प्राधिकरणका अनुसार सबै जीवन बीमा कम्पनीले यस आर्थिक वर्षको पहिलो त्रैमासमा ४० अर्ब ८० करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । यसमध्ये नेप्सेमा सूचीकृत ११ कम्पनीले ३३ अर्ब ३६ करोड रुपैयाँ संकलन गरेका छन् । खुब बीमाशुल्क आर्जन ११ दशमलव ९३ प्रतिशतले बढेको देखिएको छ । अघिल्लो वर्ष ११ जीवन बीमा कम्पनीले २९ अर्ब ८० करोड रुपैयाँ बीम(ाशुल्क आर्जन गरेका छन् ।
बीमा कम्पनीहरूको कर्जा तथा लगानीबाट हुने आम्दानी पनि २५ दशमलव ३९ प्रतिशतले बढेको छ । यस्तो आम्दानी ११ अर्ब ७१ करोड रुपैयाँ आर्जन गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा लगानी तथा कर्जाबाट नौ अर्ब ३४ करोड रुपैयाँ आम्दानी गरेका थिए ।