काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाताको मतभारमा वृद्धि भएको छ । राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ मा राष्ट्रियसभाको निर्वाचनमा मतदान गर्ने निर्वाचक मण्डल (प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख) को मतभारको व्यवस्था रहेको छ ।
मतभार कायम गर्दा पछिल्लो राष्ट्रिय जनगणनाअनुसारको कुल जनसंख्यालाई आधार मानी कायम गर्नुपर्ने व्यवस्था रहेको निर्वाचन आयोगले जनाएको छ । हाल राष्ट्रिय जनगणना २०७८ सम्पन्न भई जनगणनाको प्रतिवेदन समेत सार्वजनिक भइसकेकोले सो प्रयोजनका लागि उक्त ऐनबमोजिम राष्ट्रिय तथ्याङ्क कार्यालयको सिफारिस समेतका आधारमा प्रदेशसभा सदस्यका लागि ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको लागि १९ मतभार कायम गरिएको आयोगले जानकारी दिएको छ ।