काठमाडौँ । आन्तरिक राजश्व विभागले कर दिवसको अवसर पारेर व्यवसाय सञ्चालन गरेबापत राज्यलाई धेरै कर तिर्ने विभिन्न कम्पनी र व्यक्तिलाई सम्मानित गरेको छ । कर दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा विभिन्न करदाता कम्पनी र व्यक्तिलाई १६ विधामा सम्मान गरिएको हो ।
विभागका अनुसार व्यक्तिगत तर्फ जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजका सञ्चालक विजयबहादुर शाह सबैभन्दा धेरै कर तिर्नेको सूचीमा रहेका छन् । उनी यही विधामा सम्मानित भएका हुन् ।
यस्तै, धेरै निर्यात गर्ने विधामा डाबर नेपाल, विशेष उद्योगतर्फ एसियन पेन्ट्स सम्मानित भएको छ । सूर्य नेपालले लगातार ५ वर्षदेखि सबैभन्दा धेरै आयकर, मूल्य अभिवृद्धि कर र अन्तःशूल्क तिर्ने कम्पनीका रुपमा सम्मानित भएको हो । सूर्य नेपालले दुई विधामा सम्मान पाएको छ ।
यस्तै, राज्यलाई सबैभन्दा धेरै व्यक्तिगत आयकर बुझाएकाले राज ब्रुअरी, जेजीआई डिस्ट्रिब्यूसन, फुड एन्ड बेभरेज लगायतका कम्पनीलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले सम्मानित गरेका हुन् । छिमेक लघुवित्त, नोबेल मेडिकल कलेज र एलआईसी नेपालले समेत आ–आफ्नो क्षेत्रमा सबैभन्दा धेरै कर बुझाएर सम्मानित भएका छन् ।