काठमाडौं । नेपाली सेनाका उपरथी ताराध्वज पाण्डे र ऊर्जा मन्त्रालयका सचिव दिनेश कुमार घिमिरेले दिएको राजीनामा मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको छ । उमेर विवादमा परेपछि प्रधानसेनापतिको रोलक्रममा रहेका पाण्डेले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका थिए भने सचिव घिमिरेले पदावधि सकिनुभन्दा एक महिना अगाडि नै आफ्नो व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका थिए ।
पाण्डेले दिएको राजीनामा २०८० कात्तिक २४ गतेबाट लागू हुने गरी मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । त्यस्तै, घिमिरेको राजीनामालाई आजको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको मन्त्री शर्माले बताइन् ।
त्यसैगरी, मन्त्रिपरिषद बैठकले सुनको अवैध तस्करीबारे जाँचबुझ गठन गर्न भएको आयोगको माग बमोजिम चार जना प्राविधिक जनशक्ति थप गर्ने निर्णय पनि गरेको छ ।
मन्त्री शर्माका अनुसार विद्युत सुशासन आयोगको सदस्य पदमा कञ्चनपुर निवासी पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने र प्राविधिक शिक्षाको क्षेत्रमा स्वीटजरल्याण्ड सरकारले प्रदान गर्ने स्वीसफ्र्याङ्क ४.४६५ मिलियन (करिब ६५ करोड रुपैयाँ) अनुदान स्वीकृत गर्ने निर्णयसमेत भएको छ ।