काठमाडौँ । आगामी फागुन २० गते समाप्त हुने राष्ट्रियसभा सदस्यको निर्वाचन आगामी माघ ११ गते बिहीबार गर्ने गरी मिति तोक्न बिहीबार निर्वाचन आयोगले नेपाल सरकारलाई परामर्श दिएको छ ।
आयोगका पदधिकारीले भेटेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उक्त परामर्श दिएको र प्रधानमन्त्री दाहालले आयोगको सिफारिसअनुसारकै मितिमै हुने गरी निर्वाचनको मिति तोक्ने उल्लेख गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
नेपालको संविधानको धारा ८६ को उपधारा (३) बमोजिम राष्ट्रियसभाका एक तिहाई सदस्यको पदावधि २०८० फागुन २० गते समाप्त हुन लागेको र राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम पद रिक्त हुनुभन्दा ३५ दिन पहिले (माघ १५ गते सम्म) निर्वाचन गरिसक्नुपर्ने कानूनी व्यवस्था छ । आगामी फागुन २० गते निर्वाचित १९ र सरकारबाट मनोनित एक गरी २० सदस्यको पद रिक्त हुँदैछ ।
राष्ट्रिय जनगणना २०७८ को नतिजा बमोजिम राष्ट्रियसभा सदस्यको अब रिक्त हुने पदको निर्वाचनका लागि मतदाता रहेका प्रदेशसभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुने गरी निर्वाचन आयोगबाट निर्णय भइसकेको छ ।