काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले रक्तदान कार्यक्रम, न्यानो कपडा वितरण, डस्टबिन हस्तान्तरण, स्कुल ब्याग वितरणलगायत एकै दिन १७ वटा सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरेको छ । गरिमा बैंकले हिजो(बिहिबार) आफ्नो स्थापनाकालको १६औँ बर्ष पूरा गरि १७औँ बसन्तमा प्रवेश गरेको उपलक्ष्यमा उक्त कार्यक्रम आयोजना गरेको थियो ।
बैंकले देशैभर सो दिन १७ वटा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु आयोजना गरेको जनाएको छ । बैंकले उक्त दिन आयोजित रक्तदान कार्यक्रममार्फत लाजिम्पाटस्थित विकास बैंकको प्रधान कार्यालयबाट १०९ युनिट रगत संकलन, क्षेत्रीय कार्यालय नारायणगढबाट १५२ युनिट रगत संकलन, क्षेत्रीय कार्यालय पोखराबाट १०५ युनिट रगत संकलन गरेको छ ।
त्यसैगरी, सोही दिन भिन्नाभिन्नै ठाउँमा विभिन्न सामाग्री वितरण गरेको छ । म्याग्दीस्थित गलेश्वरधाम जेष्ठ नागरिक आश्रममा न्यानो कपडा वितरण, स्याङ्जास्थित श्री शिव पार्वती वृद्धाश्रम तथा बहुउद्धेश्य संस्था र गुरुकुल वृद्धाश्रममा न्यानो कपडा वितरण, सर्लाहीको मलंगवास्थित श्री जनता माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १ का ८५ जना विद्यार्थीहरुका लागि स्कुल ब्याग वितरण, धनगढीस्थित सेती प्रादेशीक अस्पतालमा आर्थिक सहयोग एवं अस्पतालमा भर्ना भएका बिरामीहरुलाई फलफूल वितरण गरेको छ ।
त्यस्तै, बैंकले झापास्थित विर्तामोड नगरपालिकाको सबै वडाहरुका लागि र चितवनस्थित भृकुटीपथटोल विकास संस्था एवं पुतलीबजार टोल विकास संस्थालाई चितवनमा डस्टबीन हस्तान्तरण गरेको छ । रुपन्देहीस्थित अनाथ तथा असहाय महिला कल्याण समाजलाई आवश्यक ईन्भर्टर, सुर्खेतस्थित प्रशान्ति बृद्धाश्रम केन्द्रलाई आवश्यक बेड हस्तान्तरण गरेको छ ।
काठमाडौंको बुढानिलकण्ठ मन्दिरलाई सय थान कुर्सी, सुन्धारास्थित नेपाल प्रहरी अनाश्रीत गुल्मलाई भिजिटर कुर्सी र अमर सेवा नेपाल अनाथ आश्रमलाई आवश्यक कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको छ ।
त्यस्तै, बैंकले इटहरीस्थित क्षेत्रीय ट्राफिक कार्यालयलाई डिजिटल बोर्ड स्थापना गरिदिएको छ भने विरगंजस्थित वित्तिय जागरुकताका लागि नेशनल इन्फोटेक कलेजमा वित्तिय साक्षरता कार्यक्रमको आयोजना गरेको थियो ।
करिब ८ लाख ग्राहकहरुलाई सेवा दिइराखेको जनाएको बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण अनुसार ८० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने करिब ६८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको जनाएको छ ।
आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा काठमाडौंको पुतली सडकमा १२३औँ शाखा विस्तार गरेको गरिमा विकास बैंकको विभिन्न ठाउँमा गरी ५१ एटिएमबाट सेवा प्रदान गरिराखेको छ ।