काठमाडौं । महँगीले उपभोक्ताको क्रयशक्ति घटेपछि उपभोग्य वस्तुको माग घट्दा बजार चलायमान बन्न सकेको छैन । यसको पुष्टि आयात–निर्यातको ग्राफले गरेको छ । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार कात्तिक महिनामा पनि आयात खुम्चिएको छ । चालू आर्थिक वर्षको सुरुदेखि नै गतवर्षभन्दा कम आयात भइरहेकोमा चाडपर्वको बेला पनि आयात बढ्न सकेन ।
कात्तिक महिनामा एक खर्ब पाँच अर्ब रुपैयाँबराबरको वस्तु आयात भएकोे छ । यो आयात असोज महिनामा भन्दा पनि कम हो । असोजमा एक खर्ब ४८ अर्ब रुपैयाँबराबरको वस्तु आयात भएकोे थियो । गतवर्ष केही वस्तुको आयातमा प्रतिबन्ध लगाइएको अवस्थामा भन्दा अहिले आयात कम हुनुले बजारले मन्दीको सामना अझै गरिरहेको छ भन्ने देखाउँछ ।
साउनदेखि कात्तिकसम्म पाँच खर्ब १२ अर्ब ५० करोड रुपैयाँबराबरको आयात भएको छ । यो आयात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा तीन दशमलव ७९ प्रतिशत कम हो । गतवर्ष कात्तिकसम्म पाँच खर्ब ३२ अर्ब ६९ करोड रुपैयाँको आयात भएको थियो ।
विभागका अनुसार कात्तिक मसान्तसम्म सबैभन्दा धेरै पेट्रोलियम पदार्थ ९८ अर्ब आठ करोड रुपैयाँको आयात भएको छ । त्यसपछि फलाम तथा स्टिल ४२ अर्ब दुई करोड रुपैयाँको आयात भएको छ । यसैगरी ३६ अर्ब २२ करोडको विद्युतीय मेसिनरी तथा उपकरण, २३ अर्बको सवारीसाधन, १९ अर्ब ५८ करोडको प्लास्टिक, १८ अर्बको खाने तेल, १४ अर्ब ३१ करोडको मल आयात भएकोे छ ।
यसैगरी, १३ अर्ब १६ करोडको खाद्यान्न, १२ अर्ब ८७ करोडको औषधि, ११ अर्ब ८७ करोडको तरकारी, ११ अर्ब ५६ करोडको पत्थर तथा धानुजन्य सामग्री र ११ अर्बको कपडा आयात भएकोे छ ।
पेट्रोलियम पदार्थको आयात घट्यो : चार महिनामा ९८ अर्ब आठ करोड रुपैयाँबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । यो आयात गतवर्षको सोही अवधिको तुलनामा १० अर्ब रुपैयाँले कम हो । गत आर्थिक वर्षको पहिलो चार महिनामा एक खर्ब आठ अर्ब ५९ करोड रुपैयाँबराबरको पेट्रोलियम पदार्थ आयात भएको थियो ।
विद्युतीय सावारीसाधनको प्रयोग बढ्दै गएपछि पेट्रोलियम पदार्थको आयात घट्दै गएको देखिन्छ । अर्कोतर्फ अर्थतन्त्रमा आएको संकुचनले माग बढ्न सकेको छैन । उत्पादन घटेको छ भने आर्थिक गतिविधि खुम्चिएको छ । यही कारण ढुवानीका लागि कम पेट्रोलियम पदार्थ खपत हुँदा आयात पनि खुम्चिन पुगेको देखिन्छ ।
करिब सात अर्बको विद्युतीय गाडी आयात
साउनदेखि कात्तिक मसान्तसम्म छ अर्ब ८३ करोड रुपैयाँबराबरको २७ सय ८७ वटा विद्युतीय गाडी आयात भएको छ । भन्सार विभागका अनुसार विद्युतीय कार, जीप र भ्यान आयात भएको छ । सरकारले विद्युतीय सवारीसाधनको प्रयोग बढाउने नीति लिएपछि आयात पनि बढ्दै गएको छ । विद्युतीय सवारी आयातबाट सरकारले चार महिनामा दुई अर्ब ९७ करोड रुपैयाँबराबरको राजस्व संकलन गरेको छ ।
भन्सार राजस्व : आयात खुम्चिएका कारण कात्तिकमा राजस्व संकलनमा पनि असर परेको छ । कात्तिकमा जम्मा ५७ अर्ब राजस्व संकलन भएको छ ।
कात्तिकसम्म एक खर्ब ३७ अर्ब आठ करोड रुपैयाँ राजस्व संकलन भएको छ । यो राजस्व गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११ अर्ब रुपैयाँले बढी हो । गतवर्ष कात्तिकमा एक खर्ब २६ अर्ब ६२ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।
भन्सार विभागका अनुसार पेट्रोलियम पदार्थबाट ३४ अर्ब ६९ करोड रुपैयाँ राजस्व संकलन भएको छ । त्यसपछि सवारीसाधन आयातबाट १८ अर्ब ७४ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।
निर्यात पनि खुम्चियो : विभागका अनुसार गतवर्षभन्दा यसवर्ष निर्यात पनि खुम्चिएको छ । गत आर्थिक वर्षको पहिलो चार महिनामा ५४ अर्ब ७७ करोडको निर्यात भएकामा यस वर्षको चार महिनामा ५० अर्ब ५६ करोड रुपैयाँबराबरको निर्यात भएको छ । वैदेशिक व्यापार खुम्चिएपछि व्यापारघाटा पनि गतवर्षभन्दा कम छ । कात्तिक मसान्तसम्म चार खर्ब ६१ अर्ब ९३ करोड रुपैयाँबराबर व्यापारघाटा भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिसम्मको तुलनामा तीन दशमलव ३४ प्रतिशत कम हो । गत वर्ष कात्तिकसम्म चार खर्ब ७७ अर्ब ९१ करोड रुपयाँ व्यापारघाटा थियो ।