दोलखा । चीनसँग सिमाना जोडिएको हिमाली जिल्ला दोलखाको लामाबगर फलाक नाका हुँदै एक वर्षको अवधिमा ३३ किलो सुन तस्करी भएको पाइएको छ । दोलखा प्रहरीका अनुसार लामाबगरको फलाक नाकाबाट मात्रै विभिन्न आपराधिक समूहहरूले ३३ किलो सुन अवैधरूपमा चीनबाट भित्र्याएको पाइएको हो ।
केही समयअघि अवैध ११ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका १५ जनालाई प्रहरीले दुई महिना लगाएर गरेको अनुसन्धानका क्रममा सो तथ्य खुलेको हो । जिल्ला प्रहरी कार्यालय दोलखाले मंगलबार पत्रकार सम्मेलन गरी सुन तस्करहरूको गिरोहले चीनको तिब्वतसँग सिमाना जोडिएको दोलखाको लामाबगरको फलाक नाकाबाट डोरीमा सुन बाँधेर खोला पार गरी तस्करी गर्ने गरेको खुलेको जानकारी दिएको छ । तिब्वतबाट अवैधरूपमा सुन नेपाल भित्र्याइ काठमाडौं लगेर बिक्री गरेपछि पुनः त्यहाँबाट डलरलाई सिलबन्दी गरी प्याक गरेर लामाबगरको फलाकबाट डोरीमा बाँधेर खोला तारी चिनियाँ नागरिकलाई भुक्तानी गर्ने गरेको खुलेको हो ।