काठमाडौं । बुक बिल्डिङमार्फत सर्वोेत्तम सिमेन्टको सेयर बिक्री खुला भएको छ । कम्पनीले बुधबारबाट नेपालमै पहिलोपटक बुक बिल्डिङ प्रक्रियाबाट सेयर बिक्री खुला गरेको हो । कम्पनीले संस्थागत योग्य लगानीकर्ताको लागि २४ लाख कित्ता सेयर जारी गरेको हो ।
कम्पनीले जारी गर्न लागेको कुल ६० लाख कित्ता सेयरको ४० प्रतिशत रहेको कम्पनीले जानकारी दिएको छ । कम्पनीले अब संस्थागत योग्य लगानीकर्तालाई चार सय एक रूपैयाँदेखि छ सय एक रूपैयाँको दरमा सेयर जारी गरेको छ। यसमा संस्थागत लगानीकर्ताले बोलकबोल गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । बोलकबोलमा आवेदन दिएको अधिकतम मूल्य र सोअनुसारको कित्ता सेयर बाँड्दै जाँदा जुन मूल्यमा पुगेर सेयर संख्या सकिन्छ, त्यही मूल्य ’कट अफ प्राइस’का रूपमा रहेको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार बोलकबोल मंसिर १० गतेसम्म कायम रहने छ । यसरी बोलकबोल गरेको सेयर संस्थागत लगानीकर्ताले खरिद गर्नैपर्छ ।
यसभन्दाअघि पनि संस्थागत लगानीकर्ताहरूले बुक बिल्डिङ प्रक्रियाबाट कम्पनीको मूल्य निर्धारणका लागि कम्पनीको सेयरमा बोलकबोल गरेका थिए । यसरी पहिले गरेको बोलकबोल प्रक्रियामा सहभागी हुन कम्पनीले मूल्य दिएको हुन्छ । त्यो समय बोलकबोलमा भाग दिएर मूल्य निर्धारण गरिने भए पनि सेयर भने बाँडफाँट गरिएको हुँदैन । सर्वोत्तमले सुरूमा पाँच सय एकदेखि सात सय ५१ रूपैयाँ ५० पैसा मूल्य कोट गरेको थियो । त्यसमा भएको बोलकबोलबाट चार सय एकदेखि छ सय एक रूपैयाँसम्म निर्धारण भएको हो । अब संस्थागत योग्य लगानीकर्ताहरूले गर्ने बोलकबोलमा भने निस्किने कट अफ प्राइसभन्दा १० प्रतिशतले कम मूल्य राखेर दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर जारी गरिन्छ । दोस्रो चरणमा सर्वसाधारणका लागि ३६ लाख कित्ता सेयर जारी हुनेछ। कम्पनीको सेयर निष्काशन एवम् बिक्री प्रवन्धककोरूपमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।