काठमाडौं । इ–सेवामार्फत मनिग्राम रेमिट्यान्सको नगद भुक्तानी हुने भएको छ । डिजिटल रेमिट्यान्स कम्पनी इ–सेवा मनी ट्रान्सफर र विश्वको अग्रणी रेमिट्यान्स कम्पनी मनिग्रामबीचको लामो समयदेखि बैंक र इ–सेवा वालेटमा भएको साझेदारी अब नगद रेमिट्यान्स भुक्तानीमा पनि सुरू भएको कम्पनीले जानकारी दिएको छ । दुवै कम्पनीहरूबीच भएको यो सम्झौतासँगै विदेशमा बसोबास गर्दै आएका नेपालीहरूले मनिग्राममार्फत् इ–सेवा मनि ट्रान्सफरबाट सुरक्षित र विश्वासिलो डिजिटल माध्यमबाट नेपालमा पैसा पठाउन सक्नेछन् । साथै, नेपालमा ग्राहकहरूले मनिग्राम ब्रान्डेड इ–सेवा मनी ट्रान्सफरका भुक्तानी केन्द्रहरूबाट सजिलैसँग आफ्नो भुक्तानीहरू प्राप्त गर्न सक्नेछन् ।
ग्राहकहरूले पुस १५ गतेसम्म नगद रेमिट्यान्स पठाउँदा विभिन्न पुरस्कार जित्न सक्नेछन् । अफरअन्तर्गत आगामी १० दिनसम्म मनिग्राममार्फत् नगद पठाउँदा अतिरिक्त एक सय रूपैयाँ बोनस पाउनुका साथै टिसर्ट, टोपी, कलम र किचनका आकर्षक सामग्रीहरू प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । यसैगरी, पुस १५ गतेसम्म नगद रेमिट्यान्स पठाउनेमध्ये एक जनाले स्मार्ट फोन जित्न सक्ने छन् ।
सम्झौताबारे इ–सेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत, अजेश कोइरालाले भने, ’मनिग्रामजस्तो प्रतिष्ठित रेमिट्यान्स कम्पनीसँग निरन्तर साझेदारी गर्न पाउँदा हामी उत्साहित छौँ। यस सम्झौताले सुरक्षित र भरपर्दो माध्यमबाट नेपालमा पैसा पठाउन थप सहजता हुने कुरामा हामीलाई विश्वास छ । ’साथै, भुक्तानी केन्द्रहरूको संख्या विस्तार गरी ग्राहकहरूको नजिकको स्थानमा रकम प्राप्त गर्न सजिलो प्रक्रिया प्रदान गरी नेपालमा नगद रेमिट्यान्सको पहुँच बढाउन प्रतिबद्ध रहेको जानकारी समेत उनले दिए । मनिग्राम अग्रणी विदेशी मुद्रा र विश्वव्यापी रेमिट्यान्स सेवा प्रदायक कम्पनी हो । हाल यो कम्पनीको सेवा विश्वभरि सञ्चालनमा रहेका छन् । जसले ग्राहकहरूलाई भरपर्दो र गुणस्तरीय सेवाहरू प्रदान गर्दै आएका छन् ।इ–सेवा मनी ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इ–सेवा वालेट, बैंक तथा वित्तीय संस्था र आफ्ना भुक्तानी केन्द्रमार्फत् पनि विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।