काठमाडौं । सिरहा र ललितपुरमा क्रमशः घर र कस्मेटिक पसलमा आगलागी हुँदा विभिन्न धनमाल जलेर लाखौँको क्षति भएको छ । प्रहरीका अनुसार दुबै ठाउँमा बिहिबार आगलागी भएको थियो । सिरहास्थित सखुवानान्कारकट्टी गाउँपालिका–४ सिम्रहा बस्ने गजेन्द्र नारायण यादवको घरमा बिहीबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब तीन लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । त्यस्तै, ललितपुर महानगरपालिका–१९ मच्छिन्द्र बहालस्थित पर्सा वीरगंज घर भएकी ४६ वर्षीया अनिता सिंह ठकुरीको कस्मेटिक पसलमा बिहीबार राति आगलागी हुँदा पसल पूर्णरूपमा जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो । दुबै घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।