काठमाडौं । २०४७ सालदेखि नै नेपाल आई अन्धभक्त शिष्यहरूको संख्या बढाउँदै लगेका जोधपुरवाले ज्योतिषी तथा कथित तान्त्रिक÷गुरु नारायणदत्त श्रीमालीको १९९८ मा मुम्बईको अस्पताल बेडमा छटपटाएर भएको मृत्युपश्चात् उनका छोराहरू नन्दकिशोर, कैलाशचन्द्र र अरविन्दले धर्मको नाममा नेपालको काठमाडौंलगायतका विभिन्न सहरहरूमा विभिन्न ठगी धन्दा चलाई हजारौँ अन्धभक्तबाट करोडौँ मात्र होइन अरबौँ रूपैयाँ कुम्ल्याई अपचलन गरिसकेका छन् । जसमा सरकारले आँखा चिम्लेर बसेको छ ।
यी गुरुका आश्रमहरूले शारीरिक, आर्थिक, सौन्दर्य, आरोग्यता, धनवर्षा, मानप्रतिषठा र सुखशान्तिको लागि भन्दै प्रलोभन देखाउँदै मनगढन्ते मन्त्र र यन्त्रहरू बिक्री गर्दै आएको छ । जसमा धेरै नेपालीहरू फस्दै आएका छन् । बाबु नारायणदत्त श्रीमाली उर्फ निखिलेश्वरानन्दलाई शक्तिशाली भगवान् साबित गर्नको लागि तीन जना छोराहरूले विभिन्न नौटङ्की रच्दै शिष्यहरूलाई बेबकुफ बनाउँदै आएका छन् ।
हिन्दु धर्मको नाम नलिने र वैदिक र सनातन धर्मको विपरीत गतिविधि गर्दै आएको बसुन्धरामा रहेको यिनीहरूको मुख्य संस्था सिद्धाश्रम शक्तिकेन्द्रलगायत अन्य ठाउँमा अखडा जमाएका आश्रमहरूले विशिष्ट व्यक्तिहरूलाई समेत फसाइसकेको छ । ऋषिरूपको ठग गुरुको फोटोले सर्वसाधारणहरूको ‘ब्रेनवास’ गर्न सजिलो भएको छ । तर्क निषेध गर्नेगरेका यिनका आश्रममा कसैको पनि कुरा उठाउने हिम्मत हुँदैन । विभिन्न फलिफाप हुने भन्दै मन्त्र र यन्त्र घरको सम्पत्ति सकेर भए पनि खुरुक्क किन्नै पर्छ ।
काठमाडौंको कोटेश्वर, कपनमा मात्रै होइन विभिन्न जिल्लामा कथित गुरु नाराणदत्त श्रीमाली उर्फ निखिलेश्वरानन्दको मूर्ति र मन्दिर निर्माणका लागि पालिकाहरूले सजिलै बजेट दिने गरेका छन् । सरकारी निकायलाई समेत बेबकुफ बनाउन सफल यी गुरुका दलालहरूले कति कमिसन खान्छन् त्यो त जानकारहरूलाई नै थाहा होला । त्यतिमात्र होइन निखिलेश्वरमार्ग, निखिलेश्वर कोलोनी, निखिलेश्वर टोल समेत यिनीहरूले कायम गर्न सफल भएका छन् । ठग तथा पाखण्डी गुरुको बारेमा विस्तृत चर्चा यसअघिको अंकमा गरिसकिएको छ ।
काठमाडौं, पोखरा, विराटनगर, जनकपुर, वुटवल, नेपालगञ्ज र दाङमा हुने शिविरहरूमा गाउँ–गाउँबाट समेत चेलाहरू घरव्यवहार लथालिङ्ग पार्दै ठग गुरुको पाउमा शरण पर्ने र दाम चढाउने नौलो कुरा होइन । यिनीहरूले नेटवर्किङ व्यवसायजस्तै तरिकाले धेरैलाई फसाइसकेका छन् ।