काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले झण्डै १५ खर्ब रूपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको असोज मसान्तसम्म सञ्चालनमा रहेका ५४ वटा बैंक तथा वित्तीय संस्थाले कुल १४ खर्ब ९४ अर्ब आठ करोड रूपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका हुन् ।
वाणिज्य बैंकहरूले १३ खर्ब नौ अर्ब ७३ करोड र विकास बैंक र फाइनान्स कम्पनीहरुले एक खर्ब ८४ अर्ब ३४ करोड रूपैैयाँबराबरको अन्तरबैंक कारोबार गरेका हुन् । बैंक तथा वित्तीय संस्थाको यो कारोबार गत आर्थिक वर्षकोे पहिलो त्रैमासको तुलनामा पाँच खर्ब ३२ अर्ब रूपैयाँले बढी हो ।
राष्ट्र बैंकका अनुसार गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूले आठ खर्ब ५६ अर्ब दुई करोड र विकास बैंक र फाइनान्स कम्पनीहरूले ८५ अर्ब ५८ करोड रूपैयाँ कारोबार गरेका छन् । जुन कुल नौ खर्ब ४१ अर्ब ६० करोड रूपैयाँबराबर हुन्छ ।
राष्ट्र बैंकका अनुसार २०७९ असोजमा ९१ दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर १० दशमलव १४ प्रतिशत रहेकोमा २०८० असोजमा चार दशमलव ९४ प्रतिशतमा झरेको छ । यसैगरी बैंक तथा वित्तीय संस्थाहरूबीचको अन्तर बैंक कारोबारको भारित औसत ब्याजदर २०७९ असोजमा आठ दशमलव ५१ प्रतिशत रहेकोमा २०८० असोजमा दुई दशमलव २६ प्रतिशत रहेको छ ।
२०८० असोजमा वाणिज्य बैंकहरूको औसत आधार दर नौ दशमलव ९४ प्रतिशत, विकास बैंकहरूको १२ दशमलव ३० प्रतिशत र फाइनान्स कम्पनीहरूको १३ दशमलव ६५ प्रतिशत छ । अघिल्लो वर्षको असोजमा वाणिज्य बैंकहरूको औसत आधार दर १० दशमलव ३४ प्रतिशत थियो ।
राष्ट्र बैंकका अनुसार २०८० असोजमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर सात दशमलव ९० प्रतिशत छ । यस अवधिमा विकास बैंक र फाइनान्स कम्पनीहरूको भारित औसत ब्याजदर क्रमशः नौ दशमलव ३६ र १० दशमलव १९ प्रतिशत छ । २०७९ असोजमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर आठ दशमलव १६ प्रतिशत कायम भएको थियो । त्यसैगरी, कर्जाको भारित औसत ब्याजदर २०८० असोजमा वाणिज्य बैंकहरूको १२ दशमलव ११ प्रतिशत, विकास बैंकहरूको १३ दशमलव ९१ प्रतिशत र फाइनान्स कम्पनीहरूको १४ दशमलव ६१ प्रतिशत रहेको छ । राष्ट्र बैंकका अनुसार २०७९ असोजमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर १२ दशमलव १९ प्रतिशत कायम भएको थियो ।
चालू आर्थिक वर्षको पछिल्लो तीन महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले गरेको स्थायी तरलता सुविधाको उपयोग भने दुई खर्ब ३९ अर्ब ४९ करोड रूपैयाँ छ । राष्ट्र बैंकका अनुसार यस अवधिमा स्थायी तरलता सुविधामार्फत एक अर्ब २० करोड र ओभरनाइट तरलता सुविधामार्फत दुई खर्ब ३८ अर्ब २९ करोड गरी कुल दुई खर्ब ३९ अर्ब ४९ करोड तरलता उपयोग गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा खुला बजार र स्थायी तरलता सुविधालगायतका विभिन्न उपकरणहरूमार्फत खुद २३ खर्ब ५५ अर्ब नौ करोड तरलता प्रवाह गरिएको राष्ट्र बैंकको भनाइ छ ।
