काठमाडौं । बैंक तथा वित्तीय संस्थामध्ये सबैभन्दा बढी आयकर तिर्ने बैंकमा ग्लोबल आईएमई परेको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ मा तीन अर्ब २० करोड रुपैयाँ कर दाखिला गरेको थियो ।आन्तरिक राजस्व कार्यालयले राष्ट्रिय कर दिवस २०८० को अवसरमा आयोजित कर सप्ताह समापन समारोहमा बैंक तथा वित्तीय संस्थाअन्तर्गत सर्वाधिक कर तिर्ने ग्लोबल आईएमई बैंकलाई सम्मान गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि अर्थमन्त्री डा. प्रकाशशरण महतले ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सर्वाधिक कर दाखिला गरेको कदर स्वरूप सम्मान पत्र प्रदान गरेका हुन् । ग्लोबल आईएमई बैंक विभिन्न सूचकहरूमा नेपालको सबैभन्दा ठूलो बैंकको रूपमा स्थापित छ । हाल बैंकको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रुपैयाँ रहेको छ ।सन् २००७ मा वाणिज्य बैंकको रूपमा बैंकिङ कारोबार सुरुवात गरेको ग्लोबल आईएमई बैंकले आफ्नो बैंकिङ यात्रामा विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थाहरू मर्जर तथा प्राप्ति गरी सबल र उत्तरदायी बैंकको रूपमा स्थापित भएको छ । आफ्नो व्यवसायको गुणात्मक वृद्धिका लागि लक्ष्य २०२५ अनुशरण गर्दै कार्यसम्पादन गर्दै आइरहेको ग्लोबल आईएमई बैंकले प्रविधिमैत्री बैंकिङ सेवा तथा सुविधाको पहुँच विस्तार गरी सन् २०२५ सम्म आफ्नो व्यवसाय दोब्बर बनाउने लक्ष्य लिएको छ ।
ग्लोबल आईएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले तीन सय ५० वटा शाखा, तीन सय ६९ एटीएम, तीन सय २२ शाखारहित बैंकिङ सेवा, ६६ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट ४५ लाखभन्दा बढी ग्राहकहरू माझ उत्कृष्ट सेवा प्रदान गरिरहेको छ ।