डुम्रे (तनहुँ) । लामो समयदेखि स्थानीय बासिन्दाले भोग्नुपरेको सास्तीलाई मध्यनजर गरेर तनहुँको भानु नगरपालिका–४ र ५ जोड्ने गरी चुँदी खोलामाथि ७४ मिटर लम्बाइ झोलुङ्गे पुल निर्माण गरिएको छ । पञ्चनगर माझडिही झोलुङ्गे पुल उपभोक्ता समितिका सल्लाहकार जयहरि ढकालले उक्त पुल बनेपछि दुई वडाका तीन हजार तीन सय ३० स्थानीयवासी लाभान्वित भएको बताए ।
उक्त समितिका अध्यक्ष भीमबहादुर अधिकारीले सङ्घीय सरकारको रु. ५९ लाख ८५ हजार छ सय छ र भानु नगरपालिकाको रु. तीन लाख ५९ हजार एक सय ३६ को लागतमा उक्त झोलुङ्गे पुल निर्माण गरिएको जानकारी दिए ।
उक्त पुल निर्माणका लागि विसं २०७७ असार ३१ मा सम्झौता गरिएकामा साउन १ गतेदेखि निर्माण कार्य सुरु भएर २०७९ चैत १५ गते सम्पन्न भएको थियो । स्थानीय राजेश कार्कीले पुल नहुँदा अर्को वडामा पुग्न घुमाउरो बाटो पार गर्नुपर्ने अवस्था अन्त्य भएको बताए ।
आइतबार सांसद एवं पूर्वमन्त्री शङ्कर भण्डारीले उक्त पुल उद्घाटन गर्दै स्थानीयवासीलाई सहजरुपले सुबिधा उपलब्ध गराउन आफूहरु प्रतिबद्ध रहेको बताए । कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठ, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीलगायतले योजनाको प्राथमिकताका आधारमा विकास गरिँदै लगिनेमा जोड दिएका थिए ।