दोलखा । जिल्लाको बैतेश्वर गाउँपालिका वडा नम्बर–५ मा मुख्य कार्यालय रहेकोे जनसचेत बचत तथा ऋण सहकारी संस्था नेपाल सरकारलाई सबैभन्दा बढी आन्तरिक राजस्व (आयकर दाखिला) गरेबापत सम्मानित भएको छ ।
आन्तरिक राजस्व कार्यालय धुलिखेलअन्तर्गत करदाता सेवा कार्यालय चरिकोटले बाह्रौं राष्ट्रिय कर दिवस २०८० को करसप्ताहको अवसरमा संस्थाका कोषाध्यक्ष भरत केसीलाई सम्मान पत्र प्रदान गरेको थियो । संस्थाले आर्थिक वर्ष २०७८/०७९ मा दोलखा जिल्लाबाट सबैभन्दा बढी करिब ८१ लाख रुपैयाँ नेपाल सरकारलाई राजस्व तिरेको थियो । यस्तै, कार्यालयले चालू वर्षको कात्तिक मसान्तसम्म दोलखाबाट आठ करोड ५४ लाख ७८ हजार तीन सय ९५ रुपैयाँ राजस्व संकलन गरेको छ । करदाता सेवा कार्यालय चरिकोटकी कर अधिकृत सम्झना गौतमले आयकर, पारिश्रमिक आयकर, पुँजीगत लाभ कर व्यक्तिगत, आयकर सरकारी प्रतिष्ठान, आयकर पब्लिक, आयकर प्रालि, सामाजिक सुरक्षा कर, बहाल कर, मूल्य अभिवृद्धि कर, ब्याजकरलगायतका राजस्व शीर्षकबाट सो राजस्व संकलन भएको जानकारी दिइन् ।