काठमाडौं । पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २३ औँ र २४ औँ वार्षिक साधारणसभा पुस मसान्तभित्र सम्पन्न हुने भएको छ । नेपालको वित्तीय बजारमा देखिएको उच्च तरलताको समस्यालगायत अन्य विविध समस्याको कारण यस संस्थाले २३ औँ वार्षिक साधारणसभा आयोजना गर्न नसकेको जनाउँदै संस्थाका सञ्चालक समितिका सचिव सुरेन्द्र भण्डारीले यही २०८० पौष मसान्तभित्र संस्थाले २३ औँ र २४ औँ वार्षिक साधारणसभा सम्पन्न गर्ने जानकारी दिए ।
उनले सेयर सदस्यको निरन्तर सहयोगका कारण संस्थाले सफलता हासिल गर्न सकेको बताउँदै उनले पुस महिनामा हुने वार्षिक साधारणसभाको तयारी थालिएको जानकारी दिए । हालको विद्ययमान अवस्थामा वित्तीय क्षेत्रमा परेको प्रभावको बाबजुद संस्थाका सेयर सदस्यहरूले संस्थाप्रति देखाएको विश्वासलाई संस्थाले आफ्नो अमूल्य सम्पत्तिको रूपमा लिएको स्पष्ट पार्दै सचिव भण्डारीले भविष्यमा आवश्यक सहयोग, सल्लाह र सुझावको अपेक्षा राखेको व्यहोरा समेत जानकारी गराउँदछौं ।
संस्थाले यही वर्षको जेठ ८ गते सहकारी विभागमा संस्थाको बचत संकलन, दायित्व, लगानी र सम्पत्तिलगायत संस्थाको वित्तीय विवरण समेत बुझाइसकेको व्यहोरा जानकारी दिएको छ । संस्थाको आव ०७९÷८० सम्म करिब नौ अर्बको कुल करोबार रहेको व्यहोरा जानकारी गराउँदै सचिव भण्डारीले आव ०७८÷०७९ को खुद नाफा रकमबाट आठ प्रतिशत र आव ०७९÷८० को खुद नाफा रकमबाट पाँच प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव राखेको जानकारी गराए ।
संस्थाले नेपालको समग्र सहकारी बजारमा कुल कारोबार, चुक्ता पुँजी, निक्षेप संकलन, कर्जा लगानी, नाफा आर्जन, नेपाल सरकारलाई राजस्वमा गरेको योगदान, रोजगारीलगायत अन्य विविध क्षेत्रमा गरेको उल्लेखनीय कार्यहरूमा अग्रणी स्थान लिन सफल भएको छ ।
संस्थाले आफ्नो लगानीमा चितवनको खैरहनीमा देशकै सर्वाधिक ठूलो गाई फार्म श्री लालीगुराँस डेरी फार्म एन्ड रिसर्च सेन्टर, ललितपुरको गोदावरीमा श्री लालीगुराँस दुग्ध प्रशोधन उद्योग सञ्चालन गरेको छ ।