गुल्मी । तम्घासमा भएको नेपाली काँग्रेस गुल्मीको दोस्रो जिल्ला सम्मेलनको बन्द सत्र सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य एवम् नेपाली काँग्रेसका नेता डा. चन्द्र भण्डारीले नेपालमा समय अनुसार काम गर्न नसकिएको बताएका छन् ।
प्रतिपक्षसँग नभएर युवासँग प्रतिस्पर्धा गर्नुपर्ने बेला आएको छ भन्दै भण्डारीले युवाहरूको भावनालाई सबैले बुझ्नुपर्ने बताए । सबै एकताबद्ध भए मुलुकको समस्या समाधान हुने भन्दै उनले देशलाई बिगार्ने अधिकार कसैको पनि नभएको बताए । वर्तमान हरेक नेतृत्व युवाहरूको भावना अनुसार चल्नुपर्ने बताउँदै नेता भण्डारीले हरेक नेतृत्वले देशको आवश्यकता के हो बुझ्न जरुरी रहेको पनि बताए ।
नेता भण्डारीले भाषणभन्दा पनि कामलाई विशेष प्राथमिकता दिनुपर्ने भन्दै गुल्मीलाई नमुना जिल्ला बनाउने तर्फ लागिएको बताए । अन्य जिल्लाको तुलनामा गुल्मीमा धेरै विकास भएको भन्दै अझै विकासमा गुल्मीलाई नेपालको नमुना बनाउने प्रतिबद्धता व्यक्त गरे । कसैसँग नडराई पार्टीका सबै साथीहरू एकताबद्ध भएर सङ्गठनमा लाग्नुपर्ने नेपाली काँग्रेस गुल्मीका पूर्व सभापति त्रैलोक्यप्रताप सेनले बताए ।