चितवन । सोमबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रको विकल्प नभएको बताएका छन् । सभापति देउवाले भने, “गणतन्त्रको विरोध गर्नुको अर्थ छैन, बदलिने कुरा छैन ।”
गणतन्त्र बिरोधी गतिविधिबाट राजनीतिक दलहरु अत्तालिएका हुन् ? भन्ने प्रश्नमा उनले भने, “को अत्तालियो ? हामी अत्तालिएका छैनौँ ।” गणतन्त्रको बिरोध गर्नेहरुको अर्थ नरहेको उनले बताए ।
सो अवसरमा राजतन्त्र फर्कने विषयमा आफूलाई विश्वास नलागेको कांग्रेस नेता डा. शशांक कोइरालाले प्रतिक्रिया दिए । सरकारका कामप्रति नागरिक पूर्णरुपमा सन्तुष्ट हुन नसक्दा व्यवस्थामाथि नै प्रश्न उठेको उनको भनाइ थियो ।
सङ्घीयता आवश्यक भए पनि यसको वर्तमान संरचनाप्रति भने प्रश्न उठेको उनले बताए । गणतन्त्र बचाउनका लागि जनताका मनमा आएका व्यवस्था परिवर्तनसम्बन्धी आशङ्का हटाउन सबै दल एक ठाउँमा उभिनुपर्नेमा उनले जोड दिँए ।