बिर्तामोड । बिर्तामोड –१ स्थित इकम कलेजमाथि कारबाही प्रक्रिया अघि बढेपछि पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा उद्घाटन गरिएको पृथ्वीनारायण शाहको सालिकमा श्री ५ लेखेर अनावरण गरिएको सालिकको शिलालेख हटाइएको छ । इकम कलेजले संविधानको ठाडो उल्लङ्घन गरेकाले दर्ता खारेजी प्रक्रिया अगाडि बढाइने बिर्तामोड–१ का वडाध्यक्ष अग्निप्रसाद पाण्डेले बताए ।
श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीरविक्रम शाहको करकमलबाट बिर्तामोड नगरपालिका–१ झापामा रहेको इकम कलेजको प्राङ्गणमा स्थापित राष्ट्र निर्माता श्री ५ पृथ्वीनारायण शाहको सालिक अनावरण’ गरिएका कारण सो कलेजको दर्ता खारेजीका लागि प्रक्रिया अगाडि बढाइएको हो ।
चौतर्फी विरोधपछि इकम कलेजको प्राङ्गणबाट ‘श्री ५’ लेखिएको शिलालेख हटाएको थियो । कलेजका संस्थापक अध्यक्ष एवम् सीइओ आलोक कार्कीले सालिक अनावरण गर्ने क्रममा राखिएको शिलालेखको भाषामा त्रुटि भएको महसुस भएपछि त्यसलाई हटाइएको बताए ।