काठमाडौं । वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाइदिन्छु भन्दै १० लाख रूपैयाँ ठगी गरेको अभियोगमा रोल्पा गंगादेव गाउँपालिका घर भएका ३९ वर्षीय निमराज डाँगी पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–२६ गोंगबु बस्ने डाँगीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
डाँगीले एक जनालाई वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाई प्रतिष्ठित होटलमा मासिक एक लाख २० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेर लिएका थिए । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले गोंगबुबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।