काठमाडौं । नेपाली सेनाका उच्च अधिकृतहरु धमाधम छानबिनमा पर्न थालेका छन् । अहिले प्रधानसेनापति बन्ने रोलक्रममा रहेका नेपाली सेनाका उपरथी अशोककुमार सिग्देलको पनि जन्ममिति विवादमा परेको छ । उपरथी सिग्देलको नागरिकता र शैक्षिक प्रमाणपत्रमा फरक–फरक मिति देखिएपछि उनी विवादमा तानिएका हुन् ।
जन्ममिति विवादकै कारण रथीमा बढुवाका लागि सिफारिस भएका उपरथी ताराध्वज पाण्डेको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिन बाध्य भएका थिए भने उनीपछि तेस्रो बरियतामा रहेका उपरथी निर्मल कुमार थापा पनि छानबिनमा परेका छन् । उपरथी थापाको शैक्षिक प्रमाण पत्र नक्कली भएको र उपरथी सिग्देलको जन्ममिती विवादसम्बन्धमा छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन परेपछि नेपाली सेनाका उच्चाधिकारीहरु विवादै विवादमा रहेको पुष्टी भएको छ ।
थापाविरुद्ध अख्तियारमा पूर्व सैनिक अधिकृतहरुले प्रवीणता प्रमाणपत्र तह (आईए)को शैक्षिक प्रमाणपत्र नक्कली भएको भन्दै छानबिनका लागि अख्तियारमा निवेदन दिएका हुन् । उनले भारतको गोरखपुर हाईस्कुलबाट नक्कली प्रमाणपत्र ल्याएर २०४३ सालमा नेपाली सेनामा भर्ना भइ हाल उपरथी भई सिरियामा कार्यरत रहेको निवेदनमा उल्लेख छ ।
बरियताको शीर्षस्थानमा रहेका उपरथी पाण्डेको राजीनामा स्वीकृति भएसँगै नेपाली सेनाले गत शुक्रबार दोस्रो बरियतामा रहेका उपरथी अशोककुमार सिग्देललाई रथीका लागि बढुवा सिफारिस गरी उनकाविरुद्ध उजुरी भए एक साताभित्र दर्ता आव्हान गरेको थियो ।
सिग्देलले जन्ममिति सच्याई वास्तविक सेवावधिभन्दा बढी समय काम गरेको आरोप लगाउँदै यही मंसिर ४ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमासमेत उजुरी परेको छ । ‘शैक्षिक प्रमाणपत्रमा सिग्देलको जन्ममिति १९ माघ २०२१ छ । तर, नागरिकतामा १९ माघ २०२३ राखेर जागिर लम्ब्याउँदै गएका मात्रै छैनन् उनी भविष्यमा सैनिक प्रमुख बन्ने लाइनमा छन्’ अख्तियारमा उपरथी सिग्देलविरुद्ध परेको उजुरीमा उल्लेख छ । उजुरीमा उपरथी सिग्देलको शैक्षिक प्रमाणपत्र र नागरिकताको उमेरबारे आवश्यक छानबिन गरी कारवाही गर्न अख्तियारसँग माग गरिएको छ ।