काठमाडौं । करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार धनुषा र बारामा गरी सोमबार करेन्टबाट दुई व्यक्तिको मृत्यु भएको हो ।
धनुषास्थित हंसपुर नगरपालिका–८ झटियाही बस्ने ६५ वर्षीय राजेन्द्र राउतको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ । आफ्नै घर नजिकै रहेको खेतमा विद्युतीय मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो ।
त्यस्तै, बारास्थित करैयामाई गाउँपालिका–४ लौतन टोल बस्ने २१ वर्षीय रमेश प्रसाद यादवको करेन्ट लागेर सोमबार राति मृत्यु भएको छ । पानी तान्ने धारामा लगाएको विद्युतीय मोटरको स्विच अन गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो । दुबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।