बुटवल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भैरहवाका व्यवसायीले गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न सहयोग मागेका छन् ।
मंगलबार देउवालाई ज्ञापनपत्र बुझाउँदै विमानस्थलसँग सम्बन्धित सम्पूर्ण व्यवसाय, पर्यटन तथा आर्थिक अवस्था समेत नराम्रोसँग प्रभावित भएको सिद्धार्थ उद्योग वाणिज्य संघले गुनासो गरेका हुन् । सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले विमानस्थल पूर्ण रुपमा सञ्चालन हुन नसक्दा यस क्षेत्रका उद्योगी, व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेको बताए ।
देउवालाई बुझाएको ७ बुँदे मागसहितको ज्ञापनपत्रमा संघले भैरहवामा अन्य स्वदेशी तथा विदेशी एयरलायन्सहरु आकर्षित गर्न नेपाल वायु सेवा निगमको जहाज निरन्तर उडान हुनुपर्ने, वायुसेवा निगमबाट तत्काल भैरहवा–दिल्ली, भैरहवा–कतार उडान सुरु गर्नुपर्ने, वुद्ध धर्मावलम्बीको बसोबास भएको मुलुकबाट नियमित अथवा चार्टर्ड उडानका लागि समन्वय गर्नुपर्ने लगायतका माग छन् ।
संघले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमान सेवा कम्पनीलाई उडान तथा अवतरणमा दिएको सहुलियत थप एक वर्षसम्म निरन्तरता दिनुपर्ने पनि माग राखेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले ४३ अर्ब बढी लगानीमा निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र ८० अर्बको निजी क्षेत्रको लगानी भए पनि विमानस्थल सञ्चालनमा नआउँदा निजी क्षेत्र मर्कामा परेको बताए ।