काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यही मङ्सिर २७ गतेदेखि आफ्नो ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गर्ने भएको छ । कामपा स्वास्थ्य विभागका अनुसार २७ गतेदखि प्लाष्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध गर्ने तयारी गरिएको हो ।
कामपा स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार (चुरोट, बिँडी, तमाखु, सुल्फा, कक्कड, प्लाष्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने) सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री र प्रयोग गर्न पाइने छैन । कसैले बिक्री गरेको देखे नगर प्रहरीमार्फत त्यस्ता किसिमका सामग्री जफत गर्ने बताइएको छ ।
प्रमुख पौडेलले भने, ‘हामी स्वस्थ्य सहर निर्माणको अभियानमा रहेका छौँ । उनान्तीसौँ महानगर दिवसको सन्दर्भ पारेर जनस्वास्थ्य र वातावरणमा हानी पु¥याउने सुर्तीजन्य वस्तुको भण्डारण, बिक्री र प्रयोगमा रोक लगाउने निर्णय गरेका हौँ ।’ उनका अनुसार काठमाडौँ महानगरपालिकाले २०८० सालमा जारी गरेको जनस्वास्थ्य ऐनमा यससम्बन्धी व्यवस्था छ ।