दोलखा । करदाता सेवा कार्यालय चरिकोटले चालू आर्थिक वर्षको पहिलो चौमासिकमा आठ करोड ५४ लाख रुपैयाँ बढी आम्दानी गर्न सफल भएको छ ।
कार्यालयले साउनदेखि कात्तिक मसान्तसम्ममा आठ करोड ५४ लाख ७८ हजार तीन सय ९५ रुपैयाँ राजस्व संकलन गरेको हो । करदाता सेवा कार्यालय चरिकोटकी कर अधिकृत सम्झना गौतमका अनुसार कार्यालयले सो अवधिमा बैंक भौचरबाट चार करोड ९५ लाख ५७ हजार रुपैयाँ र ई–पेमेन्टबाट तीन करोड ५९ लाख २१ हजार दुई सय ९२ रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले आयकर, पारिश्रमिक आयकर, पुँजीगत लाभकर व्यक्तिगत, आयकर सरकारी प्रतिष्ठान, आयकर पब्लिक, आयकर प्रालि, सामाजिक सुरक्षा कर, बहाल कर, मूल्य अभिवृद्धि कर, ब्याज कर, अन्तःशुल्क, औद्योगिक उत्पादन कर, मदिरा कर, सुर्तीजन्य पदार्थ कर, बीमा करलगायतका राजस्व शीर्षकबाट सो रकम संकलन गरेको हो । कार्यालयले कात्तिक महिनामा मात्रै एक करोड ५४ लाख २६ हजार दुई सय रुपैयाँ राजस्व संकलन गरेको छ । यस्तै, व्यक्तिगत प्यान नम्बर लिनेको संख्यामा पनि वृद्धि आएको कार्यालय जनाएको छ ।