काठमाडौं, जेठ ५
नेपालको पहिलो पूर्वाधार विकास बैंकको रूपमा स्थापना भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई २५ लाख रूपैयाँ सहयोग गरेको छ । आइतबार उक्त सहयोग रकमबराबरको चेक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद विडारीलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेले हस्तान्तरण गरेका हुुन् ।
उक्त अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको तर्फबाट उप–सचिव विष्णुप्रसाद घिमिरे र बैंक व्यवस्थापनको तर्फबाट सुवर्णकुमार सिंह समेतको उपस्थिति रहेको बैंकले जानकारी दिएको छ । मुलुकभित्र तथा मुलुकबाहिरबाट दीर्घकालीन स्रोत संकलन गरी पूर्वाधारका परियोजनाहरूलाई आवश्यक पर्ने स्रोत उपलब्ध गराउने उद्देश्यसहित स्थापना भएको बैैंकको हाल अधिकृत पुँजी ४० अर्ब, जारी पुँजी २० अर्ब र चुक्ता पुँजी १२ अर्ब रूपैयाँ रहेको छ । बैंकले निकट भविष्यमा सर्वसाधारणहरूलाई सेयर निष्काशन गरी बाँडफाँड गरेपश्चात् चुक्ता पुँजी २० अर्ब रूपैयाँ पुग्नेछ । बैंकले आव २०७६/७७ को तेस्रो त्रयमासमा ५९ करोड ६४ लाख २८ हजार खुद मुनाफा आर्जन गरेको वित्तीय विवरण प्रकाशित गरेको छ ।